कृष्ण रिजाल / विगत १० महिनादेखि वित्तीय प्रणालीमा देखिएको तरलता अभाव बिस्तारै कम हुँदै गएको छ । सरकारले आर्थिक वर्षको अन्त्यमा बढाएको खर्च र स्थानीय तहमा पुगेको बजेटले वित्तीय प्रणालीको तरलता सामान्य अवस्थामा ल्याएको हो ।
पछिल्लो चार हप्तामा वाणिज्य बैंकमा १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । तर, कर्जा प्रवाह भने ३३ अर्ब रुपैयाँ मात्रै भएको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन उच्च भएपछि तरलता लगभग सामान्य अवस्थामा आएको हो ।
अहिले बैंकमा अनिवार्य नगद मौज्दात
(सिआरआर) बाहेक करिब ९४ अर्ब रुपैयाँ तरलता रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘स्थानीय तहमा साउन १ मै एकतिहाइ बजेट निकासा हुँदा बैंक तथा वित्तीय संस्थामा मौज्दात बढेको हो,’ उनले भने, ‘अब तरलता र ब्याजदरका समस्या क्रमशः समाधान हुँदै गएका छन् ।’ अल्पकालीन रूपमा उक्त समस्या समाधान भइसकेको उनले बताए ।
सिडी रेसियो ८१.९३ मा झर्यो
अहिले कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन बढी हुँदै गएपछि वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो)मा समेत क्रमशः सुधार देखिएको छ । राष्ट्र बैंकले कडाइ गरेपछि बैंकहरूको सिडी रेसियोमा सुधार आउँदै गएको थापाले बताए । १६ असारमा ८४.५७ प्रतिशत रहेको सिडी रेसियो १२ साउनमा आइपुग्दा ८१.९३ प्रतिशतमा झरेको छ । असोजसम्म बैंकहरूले सिसिडी रेसियो ८० प्रतिशतमै झार्नुपर्ने छ ।
‘केन्द्रीय बैंकले सिसिडी रेसियोलाई त्रैमासिक रूपमा मात्रै हेर्ने गरेको थियो, तर अहिले दैनिक रूपमा निरीक्षण गरिरहेको छ,’ उनले भने, ‘असोजसम्म सिसिडी रेसियो तोकिएको अवस्थामा आइसक्नेछ ।’
२१ खर्ब ३ अर्ब निक्षेप
पछिल्लो चार हप्तामा वाणिज्य बैंकहरूमा १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत १६ असारदेखि १२ साउनसम्ममा उक्त निक्षेप संकलन भएको हो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार १२ साउनसम्म वाणिज्य बैंकहरूमा २१ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । एसोसिएसनका अनुसार १६ असारसम्म वाणिज्य बैंकहरूको निक्षेप १९ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो ।
कर्जा प्रवाह ३३ अर्ब
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्यून देखिएको छ । एसोसिएसनका अनुसार सो अवधिमा वाणिज्य बैंकहरूले ३३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । १६ असारसम्म १६ खर्ब ९० अर्ब रहेको कर्जा प्रवाह ६ साउनमा आइपुग्दा १७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो ।
अवस्था सामान्य हुँदै : व्यवसायी
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विगत १० महिनादेखि व्यवसायीले भोग्दै आएको उच्च ब्याजदर र लगानी अभावको समस्या अहिले कम हुँदै गएको बताए । ‘अहिले आवश्यकताअनुसार बैंकबाट कर्जा पनि पाइएको छ र ब्याजदर पनि क्रमशः घट्दै गएको छ,’ उनले भने, ‘तर, जसरी तरलता अभाव हुँदा एक्कासि ब्याजदर बढाइएको थियो, अहिले तरलता सामान्य हुँदा पनि त्यसरी नै ब्याज घटाइनुपर्छ ।’
ब्याजदर घट्दो
करिब दुई महिनाअघिसम्म १५ प्रतिशतमाथि रहेको कर्जाको ब्याजदर अहिले १२–१३ प्रतिशतमा झरिसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘अहिले कर्पोरेट कर्जाको ब्याजदर १० प्रतिशतभन्दा तल र साधारण कर्जाको ब्याजदर १३ प्रतिशत हाराहारीमा रहेको छ,’ उनले भने, ‘तरलता सामान्य अवस्थामा पुगिसकेकाले ब्याजदरमा अझै केही सुधार आउने अपेक्षा गर्न सकिन्छ ।’ अहिले विकास बैंकहरूमा पनि निक्षेपतर्फ बचत खाताको ब्याजदर ६ देखि ८.५ प्रतिशत र मुद्दतीमा १२ प्रतिशतसम्म ब्याजदर दिइँदै आएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरतराज ढकालले बताए । कर्जामा सरदर १४ प्रतिशत ब्याजदर रहेको उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार