२०७३ बैशाख १० गते

साताभर ४ अर्बमाथिको शेयर कारोबार, एभरेष्ट बैँकको कारोबार सबैभन्दा धेरै 

economicयस साता नेपाल स्टक एक्सचेन्जमा ४ अर्बबढीको शेयर कारोबार भएको छ । साताभर १ सय ४५ वटा कम्पनिहरुको ७४ लाख २६ हजार ५ सय ४० कित्ता शेयर १८ हजार ३ सय १९ पटक खरिदविक्रि हुँदा ४ अर्ब ३७ करोड ७ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ९२.९७ प्रतिशत बढि हो । गत साता १ सय ४७ कम्पनीहरुको ४४ लाख ७२ हजार ८ सय ४० कित्ता शेयरहरु १० हजार ७ सय ८१ पटक खरिद बिक्री हुँदा कुल २ अर्ब २६ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलव २४ अंकले बढेर अन्तिम दिन १ हजार ४ सय ४१ दशमलव ६७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ७ दशमलव ६७ अंकले बढेर ३ सय १२ दशमलव १८ अंकमा आईपुगेको छ ।

तेस्रो त्रैमाशको प्रतिवेदन प्रकाशित हुने समय नजिकिँदै गर्दा पछिल्लो वाणिज्य बैँक समूह लगानीकर्ताहरुको आकर्षण केन्द्र बनिरहेको छ । यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ जसको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी सिटिजन बैंक इन्टरनेसनलको २५ करोड ८९ लाख ८० हजार रुपैयाको, स्त्याण्ड्र्ड चार्टर्ड बैंकको २४ करोड ९२ लाख ४० हजार रुपैयाको, नेपाल बंगलादेश बैंकको २० करोड ७१ लाख ५० हजार रुपैयाको र नेपाल इन्भेस्टमेन्ट बैंकको १९ करोड ३३ लाख ३० हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । जसको ७ लाख १७ हजार कित्ता शेयरहरु खरिद बिक्रि भएका छन । त्यसैगरीे कारोबार संख्याको आधारमा सिटिजन्स बैक इन्टरनेसनल लिमिटेड अग्रस्थानमा रहेको छ जसको १ हजार २ सय २२ वटा कारोबार भएका थिए ।

यस साता एभरेस्ट फाइनान्स लिमिटेडको १ लाख ६८ हजार ८ सय ८६ कित्ता बोनस शेयर, सहयोगी बिकाश बैंकको ५ लाख ६४ हजार १ सय ७ कित्ता बोनस शेयर र टुरिज्म डेभलपमेन्ट बैंकको १० लाख ८५ हजार ४ सय ४० कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् ।