ममता थापा / निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन (प्रिमियम) आर्थिक वर्ष २०७३/७४ मा २८ प्रतिशतको वृद्धि भएको छ । बीमा समितिको गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार १७ ओटा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क बढेको पाइएको हो ।
जोखीम ग्रहण गरेबापत बीमा कम्पनीले बीमितसँग लिने रकम नै बीमाशुल्क हो । जुन, कम्पनीमा परेको दाबीका आधारमा भविष्यका लागि व्यवस्थापकीय खर्च तथा मुनाफाको सम्भावना विश्लेषण गरेर क्षेत्रगत रूपमा बीमाको प्रकृतिअनुसार निर्धारण गरिन्छ । अघिल्लो आव २०७२र७३ को तुलनामा गतवर्ष उक्त शुल्क बढ्नुको अर्थ बीमाकर्ता बढ्नु हो । त्यसबापत निर्जीवन बीमा कम्पनीहरूले आव २०७२र७३ मा रू। १४ अर्ब ९३ करोड ५० लाख आर्जन गरेका थिए । आव २०७३र७४ मा भने उक्त शुल्क रू। १९ अर्ब १८ करोड ८० लाख पुगेको छ ।
‘२ करोड ९० लाख ५५ हजार २ सय ९६ जनसङ्ख्यामध्ये १२ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको छ,’ बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने, ‘२५ प्रतिशत जनसङ्ख्यामा पहुँच पुर्याउने लक्ष्य छ ।’ बीमा शुल्कमा देखिएको पछिल्लो परिवर्तनबाट लक्ष्य टाढा नरहेको पौडेलको भनाइ छ । उनका अनुसार उद्योगधन्दा विस्तार हुँदा तथा राजनीति र आर्थिक गतिविधिले लय समात्दा बीमाको माग पनि बढ्छ । आगामी दिनमा ७ सय ४४ ओटा स्थानीय तह र त्यसअन्तर्गतका नगर र गाउँपालिकामा उत्पादन बढाउँदा आम्दानीका स्रोत विस्तार भई बीमाको क्षेत्र पनि बढ्ने अपेक्षा रहेको पौडेलले बताए ।
१ देखि ९३ प्रतिशतसम्म बढ्यो
निर्जीवन बीमा गर्दै आएको एनबी इन्स्योरेन्सको बीमाशुल्क आर्जन ९३ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीले आव २०७२र७३ मा रू। ३५ करोड २६ लाख आर्जन गरेको थियो । उक्त परिमाण आव २०७३र७४ मा रू। ६८ करोड छ । एनबीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ भने अझै सोचेजस्तो लक्ष्य प्राप्त गर्न नसकेको बताउँछन् । उनका अनुसार यस अवधिमा बीमाशुल्कबापत रू। ८५ करोड आर्जन गर्ने लक्ष्य थियो । ‘यो लक्ष्य आगामी वर्षमा पूरा गर्नेछौं,’ उनले भने ।
यस्तै, नेको इन्स्योरेन्सले आव २०७२र७३ मा रू। ९० करोड ९५ लाख आम्दानी गरेको थियो । आव २०७३र७४ मा उक्त परिमाण रू। १ अर्ब ३५ करोड पुगेको छ, जुन ४८ प्रतिशतको वृद्धि हो । आव २०७२र७३ मा रू। ७७ करोड ७ लाख सङ्कलन गरेको लुम्बिनी निर्जीवन इन्स्योरेन्सले गत आवमा उक्त रकम रू। १ अर्ब १३ करोड पुर्याएको छ । यस्तै, प्रुडेन्सियल निर्जीवन बीमा कम्पनीले रू। ८७ करोड १७ लाखबाट आफ्नो आम्दानी गत आवमा रू। १ अर्ब २५ करोड ८० लाख पुर्याएको छ, जुन ४४ प्रतिशतको वृद्धि हो । एभरेष्ट इन्स्योरेन्सले पनि अघिल्लो वर्षको रू। १७ करोड ६५ लाखमा ४२ प्रतिशतले वृद्धि गर्दै गत आवमा रू। २५ करोड आर्जन गरेको छ ।
यसैगरी, शिखर इन्स्योरेन्सले आव २०७२र७३ मा रू। २ अर्ब ७५ लाख आम्दानी गरेकामा गत आवमा रू। २ अर्ब ७५ करोड पुर्याएको छ । सगरमाथा इन्स्योरेन्सले रू। १ अर्ब ९ करोड ९० लाखबाट रू। १ अर्ब ५० करोड बीमाशुल्क आर्जन गरेको छ । प्रिमियर इन्स्योरेन्सले रू। १ अर्ब १ करोडबाट रू। १ अर्ब ३५ करोड आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले रू। १ अर्ब ११ करोड ८० लाखबाट रू। १ अर्ब ५० करोड सङ्कलन गरेको छ । हिमालयन जनरल इन्स्योरेन्सले रू। १ अर्ब ४ करोड ७० लाखबाट रू। १ अर्ब ३२ करोड आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सको आम्दानी रू। १ अर्ब २१ करोड ५० लाखबाट रू। १ अर्ब ३६ करोड पुगेको छ । यसैगरी २ आर्थिक वर्षको आम्दानी तुलना गर्दा नेशनलको करीब १५, युनाइटेडको ११, ओरियण्टलको १२, नेपाल निर्जीवनको ९ र प्रभुको ७ प्रतिशत वृद्धि छ । राष्ट्रिय बीमा कम्पनीले भने सबैभन्दा कम १ प्रतिशत मात्र बीमाशुल्क आर्जन गरेको छ । कारोबार दैनिकमा प्रकाशित समाचार




