April 21st, 2016

साताको अन्तिम दिन सामान्य बढ्यो नेप्से, ९० करोडको कारोबार

Economicसाताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ९० करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २७ वटा कम्पनिको १२ लाख ३९ हजार २ सय ३६ कित्ता शेयर ३ हजार ५ सय ९८ पटक खरिदविक्रि हुँदा कसल ९० करोड ७९ लाख ३५ हजार ५ सय ७९ रुपैँयाको कारोबार भएको हो । नेप्से परिसूचक भने सामान्य ०.९८ अंकले बढेर १४४१.६७ अंकको नयाँ विन्दुमा पुगी विहिबारको कारोबार बन्द भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैँकको सबैभन्दा धेरै ६ करोड ९६ लाख ४६ हजार ९ सय ९८ रुपैँयाको शेयर कारोबार भएको छ भने नेपाल एसबीआई बैँक र एभरेष्ट बैँकको ५ करोड माथिको शेयर कारोबार भएको छ । ४ करोडमाथिको शेयर कारोबार हुने कम्पनिहरुमा नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन बैँक रहेका छन् । संस्थापक र साधारण शेयर गरेर नेपाल इन्भेष्टमेन्ट बैँकको ७ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल बैँक, ग्लोबल आईएमई बैँक, नेशनल हाइड्रो लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

कमाउने कम्पनिहरुको अग्रस्थानमा सप्तकोशी डेभलपमेन्ट बैँक रहेको छ । जसका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । त्यस्तै, प्रोफेशनल दियालो विकास बैँकका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मन्जुश्री फाइनान्स, मिसन डेभलपमेन्ट बैँक, कृषि विकास बैँक, साहारा विकास बैँक लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको ललितपूर फाइनान्सका लगानीकर्ताले ९.७२ प्रतिशतका दरले गुमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्स, राप्तीभेरी विकास बैँक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैँक, प्राइम लाइफ इनस्योरेन्स लगायतले पनि गुमाएका छन् । 

विकास बैँक, जलविद्युत्, फाइनान्स र अन्य समूह मिलेर ओरालेको बजारलाई वाणिज्य बैँक, होटल, वीमा र उत्पादनमूलक समूहले सम्हालेका छन् । सबैभन्दा धेरै वीमा समूह ५९.०६ अंकले बढेको छ भने उत्पादनमूलक समूह ५६.०९ अंकले बढेको छ । त्यस्तै, होटल समूह २१.४३ अंकले उकालो लाग्दा वाणिज्य बैँक समूह सामान्य १.४३ अंकले बढेको छ । जलविद्युत् समूह सबैभन्दा धेरै १३.३५ अंकले घटेको छ भने अन्य समूह १२.९२ अंकले घटेको छ । विकास बैँक ५.७४ अंकले ओरालो लाग्दा फाइनान्स भने सामान्य १.७७ अंकले ओर्लिएको छ ।