April 20th, 2016

नेप्सेमा उछाल : १ अर्बको कारोबार, १४४० अंकमा परिसूचक

stock-bull-1नेपाल स्टक एक्सचेन्जमा बुधबार १ अर्ब माथिको कारोबार भएको छ । दिनभरिमा १ सय ३० वटा कम्पनिको १३ लाख ९७ हजार ५ सय ३८ कित्ता शेयर ४ हजार १ सय २ पटक खरिदविक्रि हुँदा १ अर्ब ७ करोड ९१ लाख ९५ हजार ५ सय २८ रुपैँयाको कारोबार भएको छ । परिसूचक भने ९.८८ अंकले बढेर १४४०.६९ अंकको नयाँ विन्दुमा पुगेर बुधबारको कारोबार बन्द भएको छ । 

एभरेष्ट बैँकको मात्रै २० करोड ४६ लाख ३ हजार ९ सय ८५ रुपैँया बराबरको कारोबार भएको छ भने सिटिजन्स बैँकको ७ करोड ५९ लाख ६० हजार ८ सय ४१ रुपैँयाको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैँकको ६ करोड ७२ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । संस्थापक र साधारण शेयर गरेर नेपाल इन्भेटमेन्ट बैँकको १० करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल बंगलादेश बैँकको ५ करोड ७० लाखमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल एसबीआई बैँकको ४ करोड माथिको शेयर कारोबार भएको छ भने ३ करोडमाथिको शेयर कारोबार गर्ने कम्पनिहरुमा नेशनल हाइड्रो, सानिमा बैँक, नागरिक लगानी कोष लगायत छन् । 

धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मितेरी डेभलपमेन्ट बैँक र सप्तकोशी डेभलपमेन्ट बैँकका लगानीकर्ताले क्रमशः ९.९७ र ९.९८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मिसन डेभलपमेन्ट बैँक, लुम्बिनी फाइनान्स, सगरमाथा फाइनान्स, आईएलएफसीओ माइक्रोफाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतका लगानीकर्ताले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको हामा मर्चेन्ट एण्ड फाइनान्सको शेयर मूल्य साँढे ६ प्रतिशतले घटेको छ । सेवा विकास बैँक, बरुण हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, महाकाली विकास बैँक, अल्पाइन डेभलपमेन्ट बैँक लगायतले पनि गुमाएका छन् । 

जलविद्युत् र वीमा समूहबाहेक बुधबार कारोबार भएका सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा बढी वाणिज्य बैँक समूह १६.२३ अंकले बढेको छ भने अन्य, विकास बैँक, होटल र फाइनान्स समूह क्रमशः ७.०५, २.९३, १.७३ र १.२४ अंकले बढेका छन् । सबैभन्दा धेरै वीमा समूह ३५.३५ अंकले घटेको छ भने जलविद्युत् समूह सामान्य ३.३७ अंकले घटेको छ ।