Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भुक्तानीतर्फ उन्मुख हुँदैछन् बिमकहरू

२०७४ असार २६ गते

मुना कुँवर । बिमा कम्पनीहरूले दाबी भुक्तानी नै गर्दैनन् भन्ने आम मानिसको गुनासो छ । बिमा योजना खरिद गर्न जति सजिलो छ दाबी भुक्तानी लिन त्यति कठिन हुने मानिसहरूको धारणा रहेको पाइन्छ ।

मानिसहरूको यो बुझाई केही समय अघिसम्म वास्तविक नै थियो । ढिलो दाबी भुक्तानी गरे नाफा हुन्छ भने कम्पनीहरूको भ्रम थियो । त्यसैले बिमा कम्पनीहरू भुक्तानी गर्न आलटाल गर्थे । 

तर, अहिले समय फेरिएको छ । नेपालको बिमा उद्योग परिपक्क हुँदै जाँदा कम्पनीहरू दाबी भुक्तानीतर्फ उन्मुख भएको पाइन्छ । चालू आर्थिक वर्ष ०७३र७४ तेस्रो त्रैमास अवधिसम्ममा जीवन बिमा कम्पनीहरूले ७ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

यो रकम गत आवको सोही अवधिको तुलनामा दोब्बर हो । गत आवको सोही अवधिमा कम्पनीहरूले ३ अर्ब ५७ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

त्यस्तै, समितिको तथ्यांकअनुसार चालू आवको तेस्रो त्रैमासमा मात्रै कम्पनीहरूले ३ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा साढे तीन गुणाभन्दा धेरैले बढी हो ।

सो अवधिमा कम्पनीले दाबीबापत ९० करोड ९१  लाख रुपैयाँ भुक्तानी गरेका थिए । बिमा भनेको जोखिम हस्तान्तरण हो । विमितले भविष्यमा आइपर्ने सक्ने आर्थिक संकटलाई अनुमान गरी बिमा कम्पनीलाई जोखिम हस्तान्तरण गरेको हुन्छ ।

अर्थात्  बिमा कम्पनी भनेको बिमितको दुःखको साथी हो । क्षतिले आहत बनेका बिमितलाई बिमा कम्पनीबाट प्राप्त हुने भुक्तानीले राहत प्रदान गर्छ । अर्थात् आर्थिक संकटको समयमा पाउने रकम बिमितका लागि अमूल्य हुन्छ । जसका कारण बिमितको बिमा कम्पनीप्रति विश्वास बढ्ने बताउँछन् प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका बजार प्रमुख कैलाश देवकोटा । “                                                                                                          

बिमा कम्पनीहरूका लागि बिमाशुल्क आर्जन गर्नु जति महत्वपूर्ण हुन्छ त्यति नै दाबी भुक्तानी पनि । जति दाबी भुक्तानी गर्न सक्यो त्यति व्यवसाय पनि बढ्दै जान्छ,” उनले भने । 

बिमा कम्पनीहरूको लागि दाबी भुक्तानी बजारीकरणको प्रमुख उपकरण भएको बताउँछन् बिमा समितिका निर्देशक राजुरमण पौडेल । यदि कम्पनीले समयमा नै भुक्तानी गर्ने हो भने बजारीकरणका लागि विभिन्न विधि अपनाउँनै पर्दैन । “एउटा विमितले सजिलै भुक्तानी पाउने हो भने अन्य दश जना व्यक्ति बिमा गर्न तयार हुन्छन्,” उनले भने ।

त्यसैले दाबी भुक्तानी नै बिमा कम्पनीको सफलताको मूल मन्त्र भएको उनले बताए । समितिको तथ्यांकअनुसार चालू आवको तेस्रो त्रैमास अवधिसम्म जीवन बिमा कम्पनीहरूले ११ लाख १९ हजार ४१५ बिमालेख जारी  गरेका छन् ।

गत आवको सोही अवधिमा भने कम्पनीहरूले १० लाख २२ हजार २६३ बिमालेख जारी गरेका थिए । त्यस्तै, चैत मसान्तसम्ममा कम्पनीहरूले २३ अर्ब ७३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरूले प्रथम बिमा शुल्कबापत ६ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेका छन् भने दोस्रो बिमा शुल्कबापत १६ अर्ब ७७ करोड रुपैयाँ संकलन गरेका छन् । 

तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरूको दाबी भुक्तानीको क्रम बढ ेपनि निर्जीवन बिमा कम्पनीको भने घटेको छ । चालू आवको तेस्रो त्रैमास अवधिमा निर्जीवन बिमा कम्पनीहरूको दाबी भुक्तानी ६० प्रतिशतले घटेको छ । चालू आवको चैत मसान्तसम्मा कम्पनीहरूले दाबीबापत २ अर्ब २५ करोड रुपैयाँ भुक्तानी गरेका छन् भने गत आवको सोही अवधिमा ५ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी गरेका थिए ।

त्यस्तै, तेस्रो त्रैमास अवधिसम्ममा कम्पनीहरूको दाबी भुक्तानीको क्रम ३७ प्रतिशतले घटेको छ । यद्यपि निर्जीवन बिमा कम्पनीहरूले दाबी भुक्तानीलाई प्राथमिकतामा राख्दै आएको बिमकहरू बताउँछन् शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं बिमक संघका कार्यवाहक अध्यक्ष दीपप्रकाश पाण्डे । “हामीले जतिसक्दो छिटो भुक्तानी दिने नीति अपनाएका छौं ।

भूकम्पको समयमा त हामीले घर–घरमा पुगेर बिमितलाई भुक्तानी गरेका थियौं । जसको फलस्वरूप बिमितहरूको विश्वास हामीप्रति बढ्दै गएको छ,” उनले भने । त्यस्तै अबको समयमा पनि ढिलो भुक्तानी गर्ने मानसिकता राख्ने कम्पनी सफल हुन नसक्ने बताउँछन् एनबी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगोश भक्त श्रेष्ठ ।

“केही समय अगाडि ढिलो भुक्तानी गरे नाफा हुन्छ भन्ने कम्पनीहरूको गलत धारणा थियो । तर, अहिले अधिकांश कम्पनीहरूले भुक्तानीलाई प्राथमिकतामा राखेका छन् । हामीले पनि जतिसक्दो छिटो भुक्तानी गर्ने परिपाटीको विकास गरेका छौं,” उनले भने । तर, गोरखा भूकम्पका कारण गत वर्ष कम्पनीहरूको भुक्तानी बढी देखिएको बिमकहरूले बताए । 

पहिलेको तुलनामा दाबी भुक्तानीतर्फ कम्पनीहरू सजग हुन थालेको समितिका निर्देशक पौडेलले बताए । “तर, बास्तविक क्षतिको पहिचान गरी भुक्तानी गर्नुपर्छ,” उनले बताए । चालू आवको तेस्रो त्रैमास अवधिमा निर्जीवन बिमा कम्पनीहरूले ४ अर्ब ९२ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीले उक्त अवधिमा ४ लाख ५६ हजार १५४ बिमालेख जारी गरेका छन् । त्यस्तै, तेस्रो त्रैमास अवधिसम्ममा भने कम्पनीहरूले १४ अर्ब रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् भने १३ लाख २९ हजार ७५३ बिमालेख जारी गरेका छन् । कारोबार दैनिकबाट साभार गरिएको