April 19th, 2016

मंगलबार ८२ करोडको शेयर कारोबार, सामान्य बढ्यो परिसूचक

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा ८२ करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १३ वटा कम्पनिको १९ लाख २७ हजार ४८ कित्ता शेयर ३ हजार ८ सय १९ पटक किनबेच हुँदा कुल ८२ करोड ३६ लाख ७१ हजार २५ रुपैँया बराबरको कारोबार भएको छ । नेप्से परिसूचक सामान्य २.२१ अंकको वृद्धिसँगै १४३०.८१ अंकमा पुगेर मंगलबारको कारोबार बन्द भएको छ । 

सप्तकोशी डेभलपमेन्ट बैँकका लगानीकर्ताले सबैभन्दा धेरै ९.८० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सेवा विकास बैँक, ओरियन्टल होटल्स, नेशनल हाइड्रो, महिला सहयात्रा माइक्रोफाइनान्स, सिटिजन बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा बरुण हाइड्रोपावर रहेको छ जसको शेयर मूल्य ६.४८ अंकले घटेको छ । लुम्बिनी फाइनान्स, आईसीएफसी फाइनान्स, स्वरोजगार लघुवित्त, जेविल्स फाइनान्स लगायतले पनि गुमाएका छन् । 

कारोबार रकमका आधारमा भने सिटिजन बैँक अग्रस्थानमा रहेको छ जसको ८ करोड १८ लाख ६५ हजार ५७ रुपैँयाको कारोबार भएको छ । यस बैँकका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, नेपाल बैँक र नविल बैँकको ४ करोड माथिको कारोबार भएको छ भने ३ करोडमाथिको कारोबार गर्ने कम्पनिहरुमा सानिमा बैँक, नेशनल हाइड्रो, एभरेष्ट बैँक र एनआईसी एशिया छन् । स्टान्डर्ड चार्टड बैँक, इन्भेष्टमेन्ट बैँक र इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयरको २ करोड माथिको कारोबार भएको छ । 

मंगलबार जलविद्युत्, वीमा, फाइनान्स र विकास बैँक समूहले बजार ओराल्दा होटल, अन्य र वाणिज्य बैँकले बजार सम्हालेका छन् । सबैभन्दा धेरै होटल समूह २१.९३ अंकले बढेको छ भने अन्य र वाणिज्य बैँक क्रमशः ५.८७ र ४.७१ अंकले उकालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह १४.३६ अंकले घटेको छ भने विमा, फाइनान्स र विकास बैँक क्रमशः १०, ३.८१ र ३.१ अंकले घटेका छन् । उत्पादनमूलक समूह मंगलबार स्थिर रहेको छ ।