सोमबार नेपाल स्टक एक्सचेन्जमा ९० करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय ३३ वटा कम्पनिको १९ लाख ४९ हजार ५ सय ६६ कित्ता शेयर ३ हजार ८ सय ६८ पटक खरिदविक्रि हुँदा कुल ९० करोड ६७ लाख ५८ हजार ८ सय ७६ रुपैँयाको कारोबार भएको हो । त्यस्तै, नेप्से परिसूचक १९.१७ अंकले बढेर १४२८.६० अंकको नविनतम विन्दुमा पुगेको छ ।
सबैभन्दा धेरै सानिमा बैँकको ४ करोड ७१ लाख ८६ हजार ६ सय ८१ रुपैँयाको कारोबार भएको छ भने नेपाल बंगलादेश बैँक, नविल बैँक र नेपाल इन्भेष्टमेन्ट बैँकको पनि ४ करोडमाथिको कारोबार भएको छ । ३ करोडमाथिको कारोबार गर्ने कम्पनिहरुमा नेपाल बैँक, स्टान्डर्ड चार्टर्ड बैँक, सिटिजन बैँक र नेपाल एसबीआई बैँक रहेका छन् भने एभरेष्ट बैँक, एनएलजी इन्स्योरेन्स लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ ।
कमाउने कम्पनिहरुको अग्रस्थानमा साहारा विकास बैँक रहेको छ जसको शेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रिमियर इन्स्योरेन्स, राप्तीभेरी विकास बैँक, सप्तकोशी डेभलपमेन्ट बैँक र लुम्बिनी फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९५, ९.८७, ९.८१ र ९.५१ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउने अग्रस्थानमा रहेको बरुण हाइड्रोपावरको शेयर मूल्य ९.१४ प्रतिशतले घटेको छ । त्यस्तै, नयाँ नेपाल लघुवित्त, सिनर्जी फाइनान्स, प्रोफेसनल दियालो विकास बैँक, सनराइज विकास बैँक लगायतले पनि गुमाएका छन् ।
सोमबार अन्य समूहबाहेक सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै वीमा समूह १२३.४ अंकले बढेको छ भने होटल, वाणिज्य बैँक, विकास बैँक, जलविद्युत् र फाइनान्स समूह क्रमशः ३०.७७, २१.८५, २०.९४, १४.४७ र १०.८७ अंकले बढेका छन् । उत्पादनमूलक समूह स्थिर रहेको छ भने अन्य समूह १२.९२ अंकले घटेको छ ।