Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अफ्ठ्यारोमा लघुबीमा कार्यक्रम, अनेक चुनौतीहरु (हेर्नुहोस् रिपोर्टमा)

२०७४ असार १२ गते

निर्जीबन बीमा कम्पनीहरुले लघुवित्त बैकर्स संघसँग मिलेर लघुबीमा कार्यक्रम सुरु गर्ने भएका छन् । थोरै आम्दानी भएका गरिब र किसानलाई फाइदा पुर्याउने उद्देश्यले निर्जीबन बीमा कम्पनीहरुको तर्फबाट करिब ४ करोड रुपैयाँ र बेलायती सहयोग संस्था सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको करिब ४ करोड रुपैयाँ गरी करिब ८ करोड रुपैयाँको माइक्रोइन्स्योरेन्स पूल बनाएर लघुबीमा कार्यक्रम सुरु गर्न लागिएको हो । यो कार्यक्रमको ब्यवस्थापन बिमक संघले गर्नेछ ।

केके भयो काम ?
लघुबीमा कार्यक्रम सुरु गर्नका लागि प्रमुख कार्यकारी अधिकृतको नियुक्ति भइसकेको छ । कृषि विकास बैंकका अबकाश प्राप्त कर्मचारी द्रोण आचार्य उक्त पदमा छनौट भएका छन् । चालू आर्थिक वर्षभित्रमा नै कार्यक्रम सुरु गर्ने गरी प्रक्रिया अघि बढाएको बताइएको छ । पहिलो वर्षका लागि पूल मेनेजरमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छनौट भएको छ । 

कसरी सञ्चालन हुन्छ लघुबीमा कार्यक्रम ?
लघुबीमा कार्यक्रम संचालन मोडालिटी अनुसार लघुबीमा कार्यक्रमको संचालन लघुवित्त कम्पनीहरुले गर्ने छन् । अर्थात लघुवित्त कम्पनीका कर्मचारीहरुले लघुबीमा गराउने छन् । यसरी लघुबीमा गराए वापत कम्पनीहरुले १५ प्रतिशत कमिसन र थप १० प्रतिशत ब्यवस्थापन खर्च गरी बीमा शुल्कको २५ प्रतिशत रकम प्राप्त गर्नेछन् ।
  
झन्डै आठ करोडको पूल बनाएर सुरु गर्न लागिएको कार्यक्रममा हरेक वर्ष पूल मेनेजर परिवर्तन हुनेछ । बीमा गराउँदा जुन कम्पनी पूल म्यानेजर बन्छ सोही कम्पनीको नाममा बीमालेख जारी गरिनेछ । त्यस्तो बीमाबाट प्राप्त हुने प्रिमियम र आइपर्ने दायित्व भुक्तानीमा भने १७ वटै निर्जीबन बीमा कम्पनीहरु सहभागी हुनेछन् । 

कस्तो कस्तो बीमा यो कार्यक्रमले समेट्छ ?
दुई लाख रुपैयाँसम्मको सम्पत्तिको बीमा यो कार्यक्रमले समेट्ने छ । यो बीमा कार्यक्रममा सहभागी हुन चाहने ब्यक्ति वा फर्महरुले ०.२५ प्रतिशत अर्थात बार्षिक ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । हालसम्म बीमा समितिले लघुबीमा कार्यक्रमको लागि स्वास्थ्य, दुर्घटना, पशु तथा पन्छी, बाली, म्यादी लगायत सात प्रकारका ७ प्रकारका बीमालेख स्वीकृत गरिसकेको छ ।

स्वास्थ्य लघुबीमा कार्यक्रममा प्रतिपरिवार बार्षिक ३५ हजार रुपैयाँसम्म स्वास्थ्य बीमा दाबी गर्न पाइनेछ । तर यसको लागि परिवार संख्या बढीमा ५ जनाको हुनुपर्नेछ भने बीमा शुल्क बार्षिक ४ प्रतिशत अर्थात १४ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । दुर्घटना लघुबीमामा अधिकतम बीमाङ्क रकम एक लाख ५० हजार रुपैयाँ छ । यस्तो कार्यक्रमको बीमा शुल्क बार्षिक ०.१ प्रतिशत अर्थात बार्षिक १५० रुपैयाँ बीमा शुल्क तिर्नुपर्नेछ । पशु तथा पन्छी लघुबीमा कार्यक्रमको अधिकतम रकम पनि एक लाख ५० हजार रुपैयाँ नै तोकिएको छ । यस्तो कार्यक्रममा सहभागी हुन चाहने ब्यक्ति वा फर्मले बार्षिक बीमाङ्क रकमको ५ प्रतिशत रकम बीमा शुल्क तिर्नुपर्ने हुन्छ । बाली लघुबीमा कार्यक्रममा भने लागतमा अधिकतम ५० हजार रुपैयाँसम्मको बीमा गराउन पाइनेछ । यस्तो बीमा कार्यक्रमको शुल्क पनि ५ प्रतिशत नै तोकिएको छ । त्यस्तै, म्यादी लघुजीबन बीमा कार्यक्रममा अधिकतम एक लाख ५० हजार रुपैयाँसम्मको बीमा गराउन पाइनेछ भने साबधिक लघु जीबन बीमा कार्यक्रममा बढीमा एक लाख रुपैयाँसम्मको बीमा गराउन पाइनेछ । यी दुबै कार्यक्रमको बीमा शुल्क भने उमेर अनुसार फरक फरक हुन सक्ने बताइएको छ । 

अनगिन्ती चुनौतीहरु
यो लघुबीमा कार्यक्रम विशेष गरेर थोरै आम्दानी भएका सर्वसाधारणहरुका लागि निकै नै फाइदाजनक हुन्छ । तर, यो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सहज भने छैन । 

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुको कार्यक्षेत्र विस्तारलाई हेर्ने हो भने ७५ जिल्ला नै छोइएका छन् । यद्यपि, थोरै आय भएका जनतासम्म बीमा कम्पनीहरु पुग्न सकेको छैन । अझै पनि ९५ प्रतिशत जनतामा बीमाको पहुँच नपुगेको सन्दर्भमा बीमा कम्पनीहरूलाई आफ्नो क्षेत्र विस्तार गर्न पनि लघुबीमा उपयोगी हुन सक्छ । त्यसैले सीमित शहरी क्षेत्रमा मात्र केन्द्रित नभई बीमा कम्पनीहरूले लघुबीमा कार्यक्रम लिएर गाउँगाउँसम्म पुग्नुपर्छ, जुन चुनौतिपूर्ण छ । 

त्यसमाथि, बीमा कम्पनीहरुलाई गाउँतिर जाउ भन्दिएर मात्र पनि भएन । गाउँमा सर्वसाधारणले बीमा गर्ने तथा बीमा कम्पनीले ग्राहक पाउने वातावरण पनि सिर्जना गर्नुपर्छ । आफ्नो व्यवसायको नै सुरक्षा नभएसम्म घाटा सहनका लागि भनेर पक्कै पनि बीमा कम्पनीहरु गाउँ जाँदैनन् । 

बीमासम्बन्धी कतिपनि जानकारी नभएका सर्वसाधारणहरु थुप्रै छन् नेपालमा । आजकै लागि कसरी छाक टारौँ भन्ने चिन्तामा रहने नेपालीले भोलीको लागि भने जोगाएर राख्ने अवस्था नै छैन । तीनै मानिसहरुलाई पहिले रकम बचत गर्न सिकाएर अनि मात्र बीमा के हो ? किन गर्ने ? लगायतका विषयमा बुझाउनुपर्छ ।

हालसम्म ठूला र धेरै पैसा भएका मानिसहरुले मात्रै बीमा गराउने हो भन्ने मान्यता रहँदै आएको छ । हुन त, यो बीमासम्बन्धी साक्षरताको कमीका कारण भएको हो । त्यसैले, लघुबीमा कार्यक्रम लैजानुभन्दा पहिले बीमा साक्षरतासम्बन्धी कार्यक्रम गाउँगाउँमा पुर्याउनु जरुरी छ । 

यस्ता अनेकौँ चुनौतिहरु यो कार्यक्रमको सुरुवातमा देखा पर्नेछन् । तर, दीर्घकालिन रुपमा भने यो कार्यक्रम बिमक र बीमित दुबैका लागि फाइदाजनक छ । साथमा मुलुकको समग्र अर्थतन्त्रका लागि पनि यो कार्यक्रम कोसेढुंगा सावित हुनेछ ।