Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अत्याधिक बढ्यो जग्गाको भाउ, प्रत्यक्ष मारमा लगानीकर्ता

२०७४ असार ६ गते

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन् ।  पछिल्लो समय प्रदेश नं १ को सङ्घीय राजधानी विराटनगर हुने चर्चासँगै यस क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेको छ । जग्गाको मूल्य वृद्धिको प्रत्यक्ष मारमा लगानीकर्ता परेका छन् । आफूसँग भएको पूँजी जग्गा खरीदमै खर्च हुने भएपछि लगानीकर्ता उद्योग स्थापना गर्नेतर्फ उत्साहित देखिएका छैनन् ।

विराटनगर–इटहरी सडकखण्ड छेउछाउमा जग्गा खाली छैन । भएको जग्गा पनि अत्यन्तै महङ्गो छ । अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन् । कोसी राजमार्ग छेउछाउ प्रतिकठ्ठा जग्गाको मूल्य कम्तिमा रू. तीन/चार लाख पर्छ । एउटा उद्योग स्थापनाका लागि चार÷पाँच बिगाहा जग्गा आवश्यक पर्छ । ‘जग्गा खरीदमै रू. चार÷पाँच करोड खर्च हुन्छ,’ उद्योगी नन्दकिशोर राठीले भने – ‘उद्योग सञ्चालनामा आउँदासम्म  रू. १० करोडभन्दा बढी खर्च हुन्छ ।’ चाउचाउ, बिस्कुट, जुटलगायत उद्योगका लागि बढी जग्गा आवश्यक पर्छ । यस क्षेत्रमा ठूलो उद्योग सञ्चालन गर्नका लागि जग्गा खाली नै नभएको राठीले  बताए । जग्गा अभावमा चाहेर पनि लगानीकर्ताले उद्योग स्थापना गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

आफूसँग भएको र बैङ्कबाट लिएको ऋण जग्गा खरीदमै खर्च हुने स्थिति भएका कारण लगानीकर्ता उद्योग स्थापना गर्न उत्साहित नभएका उद्योगी राजेन्द्र राउतले बताए । ‘उद्योग क्षेत्रमा गर्ने लगानी अन्यमा  जाने सम्भावना छ,’ उनले भने । यहाँका उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएका छन् । सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गरे जग्गा खरीद गर्ने पूँजी उद्योगमा लगानी हुने राउतको भनाइ छ । सरकारको स्वामित्वमा रहेको नेशनल टे«डिङ र विराटनगर जुटमिलको जग्गामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न उद्योगीले माग गर्दै आएका छन् । बर्से्नि बजेटअघि उद्योगीले संस्थागत रुपमै विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको माग गर्ने गरेका छन् ।

औद्योगिक क्रान्ति विराटनगरबाटै शुरू भए पनि सरकारले बेवास्ता गरेको उद्योग सङ्गठन, मोरङका अध्यक्ष मुकेश उपाध्यायको गुनासो छ । ‘सेज स्थापना गरे जग्गा खोजीमा उद्योगीले भौँतारिनु पर्ने थिएन,’ उनले भने । उद्योग स्थापना गरिएको क्षेत्र वरपरका बासिन्दाले उद्योगका कारण वातावरण प्रदूषण भयो भनेर गुनासो गर्दै आएका कारण विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उपाध्यायले बताए ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कटपाता, प्लाष्टिकका सामान, सिमेण्ट, दाना, बिजुलीको तार, जिआइ पाइप, चामललगायत वस्तु उत्पादन गर्दैआएका छन् । उक्त क्षेत्रमा ५५० भन्दा बढी उद्योग छन् भने ती उद्योगमा ८० हजारभन्दा बढी नागरिकले रोजगारी पाएका छन् । रासस