व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै नवलपरासीमा पशु विमा गर्ने किसानको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । विभिन्न विमा कम्पनीमार्फत पशु विमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
विमा गराइने पशुमध्ये गाईको सङ्ख्या उल्लेखीय वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा पाँच हजार ५ सय पशुको विमा गरिएको थियो । जिल्लामा भैँसी, बाख्रा, बङ्गुरलगायतका पशुको पनि विमा गर्ने चलन बढेको छ । गत वर्षमा विमा गरिएका ५ सय ५ पशुमध्ये १ सय १५ वटा पशु मरेका थिए । मर्नेमा ७५ वटा गाई, २८ वटा भैँसी, ५ वटा बाख्रा, ३ वटा बङ्गुर र ४ वटा पाडा छन् ।
पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्ने र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशु बिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालयका प्रमुख शंकर शाहले जानकारी दिए । मरेका सबै पशुको बिमा कम्पनीले भुक्तानी दिएपछि किसानमा विमाप्रति आकर्षण बढेको छ । नवलपरासीमा यसवर्ष ३ हजार ५ सय ७५ गाईको विमा गरिएको छ । बाख्राको १ करोड २५ लाख, बङ्गुरको ७५ लाख र पाडाको ५० लाख रुपैँयाको विमा गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख साहको भनाई छ । पशु विमा, निर्जीव विमा अन्तर्गत गर्ने गरिएको छ ।
गत आर्थिक वर्षमा किसानले पशु मरेपछि विमा गरिएका पशुको मुल्य १ करोड भन्दा बढी क्षतिपूर्ति बापतको रकम पाएको जिल्ला पशुसेवा कार्यालय नवलपरासीले जनाएको छ ।