सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिण्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रू. छ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिए । निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा आयोजनास्थलको भ्रमणपछि निर्माण कार्य शुरू हुनेछ । ‘काम शुरू गरेको चार वर्ष्भित्र निर्माण कार्य सम्पन्न गछौँ,’ पाठकले भने । आयोजना निर्माणका लागि ११ बैङ्कले रू. आठ अर्ब ६५ अर्ब लगानी सम्झौता गरिसकेका छन् । नेपाल इन्भेस्टमेण्ट बैङ्कको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एआइडिसिएल), राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्श (एनसिसी) बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क, सानिमा बैङ्क, एनआइडिसिएल डेभलपमेण्ट बैङ्क, सनराइज बैङ्क, प्रभु बैङ्क र सिभिल बैङ्कले लगानीको सम्झौता गरेका हुन् ।
आयोजनाको लागत रू. ११ अर्ब ८६ करोड रहेको छ । सत्ताइस प्रतिशत अर्थात् रू. तीन अर्ब २१ करोड प्रवद्र्धकले स्वपूँजीका रूपमा लगानी गर्दैछन् भने बाँकी ७३ प्रतिशत बैङ्कको कर्जा लगानी हुने गरी शेयर संरचना तयार गरिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रू. १३ करोड ७९ लाख रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड आठ लाख यूनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौता (पिपिए) भएको छ । ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ । आयोजना सोलुखुम्बुको तिङ्ला, कागेल र पञ्चन क्षेत्रमा पर्छ । रासस


