Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारले नेप्सेको सेयर बिक्रि गर्ने

२०७४ जेष्ठ २८ गते

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर लगानी बिक्री गर्ने भएको छ। रजत जयन्तीका अवसरमा बिहीबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले उक्त जानकारी दिएका हुन्। सेयर बजारको विकास र विस्तारका लागि भन्दै बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी थालेको समयमा उनको यो भनाइ आएको हो। राजस्व सचिव खनालले सीधै नयाँ एक्सचेन्ज कम्पनी ल्याउन नहुने नभने पनि भएकै एक्सचेन्जलाई निजीकरण गर्न आग्रह गरे । धितोपत्र बोर्डलाई सरकारी सेयर बिक्रीको प्रक्रिया सुरु गर्न आग्रह गर्दै उनले भने, ‘सरकार आफ्नो सेयर बेच्न तयार छ, आवश्यक प्रक्रिया सुरु गर्नुहोस्।’ नयाँ एक्सचेन्ज कम्पनी ल्याए पनि हालको नेप्सेलाई स्तरोन्नति गर्ने जिम्मा बोर्डको रहेकाले त्यसबारेमा सचेत हुन आग्रह गरे। ‘यो एक्सचेन्ज कम्पनीलाई सुधार नगरी नयाँ ल्याउँदा कसरी समान प्रतिस्पर्धा हुन्छ? उनले प्रतिप्रश्न गरे। नेप्सेमा रहेको सरकारी सेयर सर्वसाधारणलाई नभए संस्थागत (कर्पोरेट) लगानीकर्तालाई मात्र बेचिने उनले प्रस्ट्याए। ‘व्यक्तिलाई बेच्दा समस्या आउन सक्छ, यसकारण संस्थागत लगानीकर्ता खोज्नुहोस्,’ उनले भने। सरकारले यसअघि पनि नेप्सेमा रहेको सेयर बेच्ने बताउँदै आए पनि कार्यान्वयन हुन सकेको छैन। 

सम्बन्धित नियमाक निकायले नियमसंगत तरिकाले काम गर्न नसकेपछि मात्र सरकारले हस्तक्षेप गर्ने भएकाले विवेकसंगत ढंगले जिम्मेवारी निभाउन बोर्डलाई सुझाव दिए। उनले भने, ‘आफूले काम गर्न नसक्ने अनि दोष जति सरकारलाई लगाउने? यो प्रवृत्ति ठीक भएन।’ सबै क्षेत्रमा सरकार आफैंले काम गर्न नसक्ने जनाउँदै उनले भने, ‘सम्बन्धित निकायले नसकेपछि मात्र सरकार प्रवेश गर्ने हो।’ 

आउँदो आर्थिक वर्षभित्रै नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर बिक्री गर्ने काम पूरा हुने गभर्नर चिरञ्जीवी नेपालले घोषणा गरे। छिमेकी मुलुकलगायत विश्वबजारमा एक्सचेन्ज कम्पनी आपसमा गाभिरहेको समयमा नेपालमा नयाँ कम्पनी थप्नु उचित नभएको जनाउँदै उनले भने, ‘बोर्ड किन पछाडि जान खोज्दै छ? नयाँ एक्सचेन्जको साटो आधुनिक प्रविधि भित्र्याएर सेयर बजारलाई प्रविधिमैत्री बनाउनुहोस्।’ अबको प्रतिस्पर्धा संख्यामा नभइ प्रविधि आधारित हुनुपर्नेमा उनको जोड थियो। केही महिनाअघि संसदबाट पारित भएको पञ्चवर्षीय वित्तीय विकास रणनीतिमा पनि नेप्सेमा रहेको सरकारी लगानी निजी क्षेत्रलाई बिक्री गरिने र त्यसको नेतृत्व बोर्डले गर्ने उल्लेख छ। हाल नेप्सेमा सरकारको ५८ प्रतिशत, राष्ट्र बैंकको ३४ प्रतिशत र एनआईडीसी डेभलपमेन्ट बैंकको ६ प्रतिशत सेयर लगानी छ। 

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजी बजारको आधुनिकीकरणका लागि लाग्न बोर्डलाई निर्देशन दिए। पछिल्लो समयमा बोर्डले सेयर बजारको विकास तथा विस्तारमा राम्रो काम गरेको जनाउँदै नयाँ प्रविधिसँगै मुलुकभर सेयर कारोबार विस्तार गर्न आग्रह गरे। उनले भने, ‘मुलुकको आर्थिक विकासमा पुँजी बजारको योगदान महत्त्वपूर्ण हुने भएकाले यसको विकास र विस्तारमा लाग्नुहोस्।’ पुँजी बजारको आधुनिकीकरणका लागि आस्वालगायत विभिन्न प्रविधिहरू बजारमा भित्र्याइएको र त्यसले बजारको विकास तथा विस्तारमा महत्त्वपूर्ण टेवा पुगेको बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए। बजारको विकास तथा विस्तारसँगै पारदर्शिता र संस्थागत सुशासनमा पनि जोड दिइएको उनले बताए। कान्तिपुर दैनिकमा प्रकाशित समाचार