गोपाल संग्रौला । काठमाडौं स्एक वर्षयता रोजगारीका लागि कतार जाने युवाको संख्या बढ्दै गइरहेको छ । एक वर्षअघिसम्म नेपालीलाई रोजगारी दिने प्रमुख रोजगार गन्तव्यको रूपमा मलेसिया रहँदै आए पनि अहिले नेपालीलाई रोजगारी दिने रोजगारदाताकाको रूपमा कतार अगाडि आएको छ । यस हिसाबले पनि कतारको अर्थतन्त्र राम्रो रहिरहनु नेपालका लागि आशा लाग्ने कुरा हो । तर, सोमबारदेखि कतारको अर्थतन्त्रमा नराम्रो धक्का लाग्ने समाचार आएको छ ।
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक कतारलाई आतंकवाद नियन्त्रणमा असहयोग गरेको आरोप लगाउँदै उसका ७ छिमेकी देशले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि नेपाली कामदारमा त्यसको असर पर्ने देखिएको छ । कतारसँग उसका छिमेकी देशले कूटनीतिक सम्बन्ध अन्त्य गर्ने निर्णयलाई निरन्तरता दिएमा निर्माण तथा सेवा व्यपार आयातमुखी रहेकोे कतारमा आर्थिक मन्दी सुरु हुने सम्भावना रहने विज्ञहरु बताउँछन् । हाल नेपाली कामदारका लागि कतार प्रमुख रोजगारदाताको रूपमा रहँदै आएका कारण यसको असर नेपालको वैदेशिक रोजगारीमा देखिने उनीहरुको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकाल कतारमा छिमेकी देशले कूटनीतिक सम्बन्ध अन्त्य गरे त्यहाँको आयात निर्यात व्यापार ओरालो लाग्ने र नेपालीबाट जाने तथा त्यहाँ रहेका नेपालीको रोजगारी गुम्न सक्ने अनुमान गर्छन् । “छिमेकी देशले लगातार सम्बन्ध तोडे कतारमा काम भएपनि स्थिर रोजगारीको सम्भावना नहुने र नेपाली कामदारको माग पनि घट्न सक्ने सम्भावना छ,” अध्यक्ष ढकालले भने, “कतारको व्यापार र निर्माण क्षेत्रमा छिमेकी देशको आयात–निर्यातको सम्बन्ध रहेको छ, यसको असर रोजगारीमा पर्छ ।”
कतारको निर्माण क्षेत्रमा धेरै नेपाली
कतारमा सन् २०२२ हुने विश्वकप फुटबल प्रतियोगिता आयोजना स्थल निर्माणका लागि लाखौं नेपाली कामदार कार्यरत रहेका छन् । साउदी अरब बहराइन, यूएई, यमन, लिबिया र इजिप्टले कतारसँगका कूटनीतिक सम्बन्धहरू अन्त्य भएको घोषणा गरेपछि त्यसको असर कतारको निर्माण क्षेत्रमा पर्ने भएको छ । कतारका निर्माण क्षेत्रमा आवश्यक पर्ने निर्माण तथा अन्य सामग्री यिनै देशहरूबाट आयात गरिने भएकाले धेरै विदेशी कार्यरत रहेको निर्माण क्षेत्र प्रभावित हुने भएको छ । कतारको निर्माण क्षेत्र विदेशी कामदार रोजगारी भएको क्षेत्र हो । कतारले आफ्नो निर्माण क्षेत्र नेपाल, बंगलादेश र भारतलगायतका देशबाट जनशक्ति माग गरिरहेको छ । त्यहाँको निर्माण क्षेत्र ओरालो लागे लाखौं नेपाली नेपाली बेरोजगार भई स्वदेश फर्कर्नुपर्ने अवस्था आउन सक्छ । यसको प्रत्यक्ष असर नेपालको रोजगारी र अर्थतन्त्रमा पर्ने देखिन्छ । सउदी अरबको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने निर्णयले कतारमा खाद्यान्न, निर्माण र सेवा क्षेत्रमा समेत असर पर्ने देखिएको छ । कतारलाई आवश्यक खाद्यान्न मध्ये झण्डै ४० प्रतिशत साउदी अरेबियाबाट आयात गरिँदै आएको छ । कतारमा चार लाख ४० हजारभन्दा बढी नेपाली कामदारहरू वैधानिक रूपमा काम गरिरेहका छन् । यसमध्ये अधिकांश नेपाली कामदार कतारमा सन् २०२२ मा आयोजना गर्न लागिएको विश्वकप फुटबलका लागि रंगशालाहरू बनाउने काममा संलग्न छन् ।
नेपालको आशालाग्दो रोजगारदाता
विगत सात आर्थिक वर्षमा ८५ प्रतिशत नेपाली कामदारलाई रोजगारी दिएर सबैभन्दा आकर्षक गन्तव्यमा मलेसियालाई विगत वर्षदेखि कतारले पछाडि पर्दै धेरै नेपाली माग गर्न थालेको थियो । हाल रोजगारीका लागि विदेश जाने नेपालीमध्ये कतारले मात्र २५ प्रतिशतभन्दा बढी माग गर्ने गरेको छ । यसरी नै १८.९ प्रतिशत साउदी अरेबिया, ९.८ प्रतिशत युनाइटेड अरब इमिरेट्स, २.५ प्रतिशत कुवेत, ०.९ प्रतिशत बहराइन र ०.६ प्रतिशत ओमानका नेपाली कामदार जाने गरेका छन् । २००९ देखि २०१२ सम्म धेरै नेपाली वैदेशिक रोजगारीका लागि जाने दोस्रो मुलुकमा साउदी रहे पनि २०१३ देखि कतार पहिलो स्थानमा आएको देखिन्छ । हाल अन्य खाडी मुलुकहरूको तुलनात्मक रूपमा कतारमा नेपाली कामदारको आम्दानी उच्च हुने, सामाजिक सुरक्षा राम्रो हँुदै गएका कारण नेपाली कामदार ठूलो रकम खर्च गरेर जाने गरेका छन् ।
कतार कस्तो देश हो ?
आर्थिक उन्नतिमा निकै अगाडि देखिएको कतार अरब खाडीको पश्चिमी किनारको मध्य भागमा अवस्थित उत्तर दक्षिण पैmलिएको एक सानो प्रायद्वीप हो । कतारमा गर्मीमा ज्यादै गर्मी र जाडोमा ज्यादै जाडो हुने गर्छ । कतार खाडीमा रहेका धेरै ससाना टापुहरू मध्येको एक राष्ट्र हो । कतार मरुभूमिको देश भएकले यहाँ न्यूनमात्रामा मात्र खेती हुन्छ । त्यसैले खाद्यान्न आयातमुखी रहेको छ । यहाँको पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र माछा आदि प्राकृतिक स्रोत नै आम्दानीका मुख्य माध्यम हुन् । देशको कुल तेल उत्पादनले ८५ प्रतिशत आम्दानीको हिस्सा ओगटेको छ । यसरी नै विश्वको तेस्रो ठूलो ग्यास भण्डार कतारमा नै पर्दछ । कतारको प्रतिव्यक्ति आय ४ लाख ६२ हजार ९१४ अमेरिकी डलर रहेको छ । कतारमा कृषियोग्य जमिन ०.२७ प्रतिशतमात्र रहेको छ । सो भूभागमा फलफूल, तरकारी, कुखुरा, दुग्ध उत्पादन, माछा मुख्य रहेका छन् । यसरी नै कतारका मुख्य उद्योगमा तेल उत्पादन तथा प्रशोधन, एमोनिया, मलखाद, स्टील, पेट्रोकेमिकल्स र सिमेन्ट हो । कतारले यातायातका साधन, खाद्यान्न र रसायनिक पदार्थ आयात गर्ने गरेको छ । यसरी नै तेल, ग्यास र मल कतारले मुख्य निर्यात गर्ने वस्तु हुन् । मध्यपूर्व तथा खाडी क्षेत्रमा पर्ने कतार तीव्र गतिमा आर्थिक उन्नति गरिरहेको सानो मुलुक हो । कतारको जनसंख्याभन्दा यहाँ आएर काम गर्नेको संख्या धेरै छ । कतारको मुख्य आम्दानीको स्रोत पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास हो । विश्वको तेश्रो ठूलो ग्यास भण्डार कतारमा नै छ ।
के काम गर्छन् नेपाली कतारमा ?
सन् २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटबलका लागि आवश्यक पर्ने भौतिक संरचना हाल धमाधम निर्माण भइरहेका छन् । त्यसैले सीप, क्षमता र जाँगर भएका नेपालीलाई कतारले हाल रोजगारीका लागि माग गरिरहेको छ । कामका लागि कतार जाने नेपालीले मुख्य रुपमा निर्माण, सेवा तथा केही प्राविधिक क्षेत्रमा अक्ष, अर्धदक्ष र अदक्ष कामदारका रूपमा काम गरिरहेका छन् । नेपालीले कतारमा गाडी चालक, सुरक्षा गार्ड र होटल तथा कारखानाहरूमा रोजगारी पाउने गरेको छन् । एमनेष्टी इन्टरनेसनलको पछिल्लो अध्ययनअनुसार आगामी दशकमा कतारले २२० अर्ब अमेरिकी डलरभन्दा बढी रकम बराबरको निर्माण कार्य गर्ने योजना बनाएको छ । कतारमा सन् २०१० मा २ हजार ५१९ वटा निर्माण कम्पनीहरू रहेका थिए । ती सबै कम्पनीहरूले गरी ५ लाख ३ हजार ५१८ नेपालीसहित विदेशी नागरिकहरूलाई रोजगारीमा लगाएका छन् । कतारका धेरैजसो ठूला निर्माण परियोजनाहरूका मुख्य मालिक कतारी नागरिकहरू नै हुने गरेको सो रिपोर्टमा उल्लेख छ । मिडिल इस्ट इकोनोमिक डाइजेस्टले गरेको अनुमानअनुसार कतारमा सन् २०२२ मा हुने फिफा वल्र्डकपको आयोजना गर्न आवश्यक स्टेडियम तथा अन्य आवश्यक निर्माणलगायत विभिन्न कार्यका लागि सन् २०१२ र २०२० को बीचमा कतारी सरकारले ११७.५ अर्ब अमेरिकी डलर बराबरको खर्च गर्ने योजना बनाएको छ । विकासको बढ्दो गतिको कारणले गर्दा कतारी कम्पनीहरूका अलावा विश्वका अन्य भागका कम्पनीहरू पनि आकर्षित भएका छन् र त्यस्ता कम्पनीहरूको संलग्नता समयमै परियोजना सम्पन्न गर्न आवश्यक पर्ने विभिन्न सामग्री आपूर्तिमा विदेशीको भर पर्नु पर्ने हुन्छ ।
कतार गएका नेपाली
आर्थिक वर्ष कामदार
०७०/०७१ १२८८७४
०७१/०७२ १२४३६८
०७२/०७३ १२९०३८
०७३/०७४
(५ महिना) ४९०७४
जम्मा ४३१३४५
पैसाको रेट घट्ला कि भन्ने डर छ
दान कार्की, दोहा
दोहा । खाडी मुलुकहरूमा देखिएको कटु तनावका बीच नेपालबाट कामका लागि यहाँ कतारमा आएका नेपालीहरूमा पनि केही भय देखिएको छ । अधिकांश नेपालीमा आफ्नो रोजगारी खोसिने हो कि भन्ने चिन्तामा छन् भने धेरैको चिन्ता पैसाको रेट घट्ला कि भन्ने छ । मोरङ घर भएका योगेन्द्र धिमालका अनुसार खाडीमा देखिएको टकरावले उनीहरूको काम नै खतरामा भने परिसकेको छैन । केही नेपालीहरूलाई आफूले गरिरहेको रोजगारी गुम्ने हो कि भन्ने शंका भने देखिन्छ । ४२ डिग्रीको घाममा सेकिँदै कमाएको पैसाको दर रेट कम हुने चिन्ताले पिरोलेको छ सिन्धुपाल्चोक घर भई विगत ६ वर्षदेखि कतारको यातायात सप्लाइ कम्पनीका चालक विमान गिरीलाई । “सबै नेपालीको मनमा अब के होला भन्ने कौतूहल छ,” उनी भन्छन् । प्रवासी कामदारको चिन्ता यहाँ खाद्यान्न सामग्री अभाव हुन्छ भन्ने पनि रहेको छ । “खाद्यान्न सामग्री अभाव हुने चिन्ताले पनि धेरैलाई पिरोलेको छ,” बुटवलका हरिराम रेग्मी भन्छन् । साउदीलगायत खाडी मुलुकहरूको तनावका बीच पनि यहाँ रहेका आप्रवासी कामदारहरूलाई कामको भने कुनै प्रकारको समस्या देखिएको छैन । यहाँ बजार सामान्य अवस्थामा सञ्चालन भएको छ । दैनिक कामकाजमा कुनै फेरबदल देखिँदैन । आजसम्म यहाँको अवस्था सामान्य रहेको छ । सबै जना ढुक्कले काम गरिरहेका छन् ।कारोबार दैनिकबाट साभार




