June 7th, 2017

यो हो नि त विकासको नमुना, चन्दा संकलन गरेर सडक निर्माण गर्दैछन् यूवाहरु

निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । 

स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी रु ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिनुभयो । पुनका अनुसार स्थानीयवासीको सक्रियतामा खानेपानी, शौचालयसहित देशका विभिन्न जिल्लाका साथै विदेशबाट आउने पर्यटकलाई समेत सहज हुने गरी सामुदायिक लज निर्माणको काम पनि भइरहेको छ । अन्य पूर्वाधार पनि थपिएको छ । पूर्वाधार विस्तारका लागि युकेमा रहेका शिखवासीको पहलमा रु ७९ लाख सङ्कलन भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने शिखको खयरबराह क्षेत्रमा पाउद्वारस्थित खोप्रा देखि खयरबराह तालसम्म बाटो मर्मत, खयरक्षेत्रमा निर्मित पदमार्गमा फलामको रेलिङ, सत्तल, खानेपानीलगायतका आवश्यक पूर्वाधार विस्तारले तीव्रता पाएको छ । 

खोप्रा आसपासको क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारमा खटिएका पुनले जिल्लाकै नमुना पर्यटकीयस्थलका साथै धार्मिक गन्तव्य बनाउने अभियानमा विश्वभर रहेका शिख, पाउद्वारवासीको सक्रियतामा आर्थिक सङ्कलन गरिएको बताउनुभयो । निकै जोखिमपूर्ण तरिकाले खानेपानीको पाइप विस्तार भइरहेको छ । पाउद्वारबाट खोप्रासम्म पुग्दा लाग्ने थकाइलाई विश्रामसँगै सुविधासम्पन्न लजको व्यवस्थाले समेत पर्यटकलाई राहत मिलेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]