२०७३ बैशाख ३ गते

साताभर चर्चामा रहेका बैँकिङ गतिविधिहरु

bankहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । जनता बैँक र माछापूछ्रे बैँकको अन्तिम प्रकृयामा पुगेको मर्जर तोडिनुलाई यस साता रहस्यमयी तरिकाले हेरियो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

राष्ट्रिय वाणिज्य बैँकले पायो नयाँ सिईओ
गत साताको शुक्रबार कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्यले राष्ट्रिय वाणिज्य बैँकको सीईओमा नियुक्ति लिन नसकेपछि किरण श्रेष्ठ नै नियुक्त हुने पक्का भएको थियो । यद्यपि, श्रेष्ठले कहिले नियुृक्ति लिने भन्ने कुराको टुंगो लागिसकेको थिएन । यस साताको आइतबार किरण श्रेष्ठलाई वाणिज्य बैँक सञ्चालक समितीले सोमबारदेखि सीईओको पद सम्हाल्न आग्रह गर्दै पत्राचार गर्यो र सोमबारदेखि नै श्रेष्ठले वाणिज्य बैँकको सीईओको पदभार ग्रहण गरे । 

मर्जर
भक्तपूर फाइनान्स र सेन्ट्रल फाइनान्स एकआपसमा गाभिने भएपछि सोमबारदेखि नै नेपाल स्टक एक्सचेन्जमा यी दुई संस्थाको कारोबार स्थगित भयो । उता, स्वाप रेसियोमा कुरा नमिल्दा अन्तिम प्रकृयामा पुगेको माछापूछ्रे बैँक र जनता बैँकको मर्जर पनि सोमबार नै तोडियो । विहिबारदेखि माछापूछ्रे बैँकले शेयर कारोबार पनि सुरु गर्यो । गुर्खा डेभलपमेन्ट बैँक र काठमाडौँ फाइनान्स मर्ज भएर बनेको गोर्खाज फाइनान्सले आइतबारदेखि कारोबार सुरु गर्यो ।  

शाखा विस्तार तथा स्थानान्तरण
कृषि विकास बैँकले रुपन्देही जिल्लाको सौफर्साटिकरमा अत्याधुनिक सेवा सहितको नयाँ बैकिङ शाखा सञ्चालनमा ल्यायो । यसै साता महालक्ष्मी फाइनान्सले पोखरामा आफ्नो १३ औँ शाखा विस्तार गर्यो । साताको अन्तिम दिन प्रभु मनि ट्रान्सफरले भारतको दिल्लीस्थित द्धारकामा रहेको कार्यालयलाई दिल्लीको मुटु मानिने क्लाट प्लेसमा स्थानान्तरण गर्यो । 

सम्झौता
गत सोमबार सेञ्चुरी बैँक र एस रेमिटबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भयो । 

सम्मान तथा पुरस्कार
यस साता नेपाल एसबीआई बैँक औद्योगिक शान्ति पुरस्कार २०७२ बाट सम्मानित भयो ।
 
नयाँ योजना
प्रभु मनि ट्रान्सफरले नयाँ वर्ष २०७३ को अवसर पारेर रेमिट्यान्स भुक्तानी लिँदा ५० रुपैँया टक टाइम भएको ३जी सिम सित्तैमा उपलब्ध गराउने योजना ल्यायो ।

शेयर वितरण
साताको मंगलबार नेपाल इन्भेष्टमेन्ट बैँकले साना लगानीकर्तालाई न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्यो । 

नयाँ सञ्चालक समिती
आईसीएफसी फाइनान्सको १३ औँ वार्षिक साधारणसभाले फाइनान्सको नयाँ सञ्चालक समिती चयन गर्यो । विहिबार फोवा विकास बैँकले पनि आगामी चार वर्षका लागि ८ जना सञ्चालकहरु चुन्यो । 

सहयोग
दोलखा जिल्लास्थित लामिडाँडा र लादुख गविसका भुकम्पपिडितलाई घर अनुदान वितरणमा राष्ट्रिय वाणिज्य बैँक र इन्भेष्टमेन्ट बैँकले आफ्नो शाखारहित बैँकिङ केन्द्रमार्फत सहयोग पुर्याइरहेका छन् । त्यस्तै, मेगा बैँकका कर्मचारीहरुले सोही बैँकका मृगौला रोगबाट पिडित एक कर्मचारीलाई ५ लाख रुपैँयाको आर्थिक सहयोग गरे ।