काठमाडौँवासीले अबको चार महिनामा मेलम्चीको पानी पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको काम ९० प्रतिशत सकिएको र असोज महिनाभित्रै राजधानीवासीको घरघरमा आइपुग्ने बताइएको छ । स्रोतका अनुसार, अब ३.२ मिलामिटर सुरुङ खन्न बाँकी छ । त्यसपछि पानी प्रशोधन केन्द्रमा फिल्टर जडान गरिनेछ । पानी प्रशोधन गरेर अर्को ट्यांकीमा पठाएपछि वितरण सुरु हुनेछ । यी सबै काम असोज महिनाभित्र पूरा गरिसक्ने लक्ष्यका साथ तीव्र गति काम अघि बढाइएको छ । उक्त आयोजनाका प्रशासनिक भवन सुन्दरीजलमा निर्माण भइसकेको छ । निर्माण कार्य सुरु भएको १८ वर्षमा मेलम्ची खानेपानी आयोजनाले पूर्णता पाउन लागेको हो ।
सुरुङ निर्माणमा ढिलाई
आयोजनाको सुरुङ निर्माणको शिलान्यास २०६६ साउन १९ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । आयोजनाको अन्तिम विन्दुमा सुरुङको शिलान्यास गरिएको भन्दै आयोजनाको मुहान रहेको सिन्धुपाल्चोकवासीले छ महिनासम्म जिल्लाका कुनै पनि स्थानमा काम अघि बढाउन दिएका थिएनन् । सन् २०१३ सेप्टेम्बरभित्र काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन २७ किलोमिटर सुरुङ तथा मुहान निर्माणका लागि सरकारले सन् २००९ को फेब्रुअरीमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तर, १० महिनाअघि अर्थात् सन् २५ सेप्टेम्बर २०१२ मा मेलम्ची आयोजनाले चाइना रेलवेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम चाइना रेलवेले माग गरेपछि मेलम्ची विकास समितिले ऊसँग ठेक्का सम्झौता रद्द गरेको थियो । आफूले ठेक्का पाएको अवधिमा चाइना रेलवेले जम्मा साढे ४ किलोमिटर मात्र सुरुङ निर्माण गरेको थियो । ऊसँगको ठेक्का सम्झौता रद्द हुँदा १० महिनासम्म आयोजनाको काम ठप्प बन्न पुगेको थियो । चाइना रेलवेले ठेक्का सम्झौता रद्द गरी बीचमै काम छाडेर हिँडे पनि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले आयोजना जसरी पनि पूरा गरेरै छाड्ने सरकारसँग प्रतिबद्धता जनाएको थियो । त्यसपछि बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । इटालीको सीएमसी कम्पनीले सात अर्ब ७२ करोड ३४ लाख रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो । सबैभन्दा कम आर्थिक प्रस्ताव सीएमसीले हालेपछि ऊसैसँग ठेक्का सम्झौता गरिएको थियो ।
सरकारले मेलम्ची खानेपानी आयोजनालई राष्ट्रिय गौरवको आयोजनाको रुपमा हरेक वर्ष प्राथमिकतामा राख्ने गरेको छ । हाल काठमाडौँ उपत्यकामा ३५ करोड लिटर पानीको आवश्यकता रहेको छ । जसमध्ये, १२ करोड लिटर पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उपलब्ध गराइरहेको छ । मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना छ । जसमा सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट १७।१७ करोड लिटर पानी ल्याइनेछ ।