प्रजिता बुढाथोकी । बीमा समितिले जारी गरेको २ अर्ब पूँजी र्पुयाउने नीति पछ्याउँदै जीवन बीमा कम्पनीहरूले गतवर्षको तुलनामा ३१ प्रतिशतले चुक्तापूँजी बढाएका छन् । चालू आवको तेस्रो त्रैमाससम्ममा ८ जीवन बीमा कम्पनीको चुक्तापूँजी मात्रै रू. ७ अर्ब ९६ करोड ८९ लाख पुगेको हो । तीमध्ये ५ कम्पनीको चुक्तापूँजीमा यो वर्ष वृद्धि देखिएको छ भने ३ कम्पनीको वृद्धि देखिएको छैन । पूँजी वृद्धि नहुनेमा नेशनल लाइफ, प्राइम लाइफ र राष्ट्रिय बीमा संस्थान रहेका छन् ।
प्राइम लाइफ इन्स्योरेन्सले विगत ४ वर्षदेखि साधारणसभा गर्न नसक्दा पूँजी वृद्धि हुन नसकेको बताएको छ । आव २०६९/७० देखि प्राइमको वार्षिक साधारणसभा हुन सकेको छैन । साधारणसभाको आयोजना गरी पूँजी वृद्धिका लागि रणनीति बनाएर अघि बढ्ने योजना रहेको प्राइम व्यवस्थापनले जानकारी दिएको छ ।
राष्ट्रिय बीमा संस्थानले पनि नियमित साधारणसभा गर्न नसक्दा पूँजी वृद्धि योजना अलपत्र परेको हो । यो वर्ष पूँजी बढाउन नसकेको नेशनल लाइफ इन्स्योरेन्सले पूँजी वृद्धिका लागि आव २०७२/७३ को नाफाबाट २५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
बीमा समितिले तोकेको चुक्तापूँजी र्पुयाउने क्रममा नेशनलले यसअघि घोषणा गरिएको १ सय प्रतिशत हकप्रदको सट्टामा ७५ प्रतिशत हकप्रद जारी गरी २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । बोनस र हकप्रदको प्रस्तावलाई कम्पनीले आगामी साधारणसभाबाट अनुमोदन गरी नियामक निकाय बीमा समितिसँग अनुमति लिनुपर्नेछ । नेशनलले गतवर्ष १ सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको थियो ।
पूँजी वृद्धि देखिएका ५ कम्पनीमध्ये सबैभन्दा बढी ७८ दशमलव ७५ प्रतिशतले नेपाल लाइफ इन्स्योरेन्सले चुक्तापूँजी बढाएको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९ करोड ६४ लाख २८ हजार रहेको छ । पूँजी वृद्धि गर्नुपर्ने प्रावधान आउनुअघि नै नेपाल लाइफको चुक्तापूँजी रू. २ अर्ब नाघिसकेको थियो । लाइफ इन्स्योरेन्स कर्पोरेशन र सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी पनि २५ प्रतिशतले पूँजी वृद्धि भएको देखिएको छ । यस्तै एशियन लाइफको २० र गुराँस लाइफको १० प्रतिशतले पूँजी वृद्धि भएको देखिएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले पूँजी वृद्धिका लागि गतवर्षको नाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस शेयर दिने निर्णय गरिसकेको छ । सो निर्णय पारित गराउन कम्पनीले जेठ १९ गते १५औं वार्षिक साधारणसभाको आयोजना गर्ने भएको छ । सभा प्रयोजनका लागि जेठ ४ देखि १९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द रहने बताइएको छ ।
त्यस्तै सूर्य लाइफ इन्स्योरेन्सले आव २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र बोनस शेयर वितरणपछि १० बराबर ४ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ । गुराँस लाइफले ८ प्रतिशत बोनसको निर्णय गरेको छ । यी दुवै कम्पनीको बोनस तथा हकप्रदका लागि आगामी साधारणसभा र बीमा समितिले पारित गर्नुपर्नेछ । यसअघि गतवर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सूर्या लाइफको वैशाख १४ को साधारणसभाले पारित गरिसकेको छ । एशियन लाइफले पनि लगानीकर्तालाई २० प्रतिशत बोनस र २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ । आर्थिक अभियान राष्ट्रिय दैनिकबाट साभार गरिएको




