April 14th, 2016

नयाँ वर्षसँगै फेरियो शेयर बजारको रङ : नेप्सेले नाघ्यो १४ सयको विन्दु

nepseशेयर बजारले १४ सय अंक पार गरेको छ । नयाँ वर्ष सुरु भएको दोस्रो दिन नेप्से १७.१५ अंकले बढेर १४०५.७८ अंकमा पुगेको छ । दिनभरिमा १ सय २७ वटा कम्पनिको ११ लाख ५४ हजार ७ सय ७५ कित्ता शेयर २ हजार ६ सय २३ पटक खरिदविक्रि हुँदा कुल ५५ करोड ९६ लाख ७५ हजार ८० रुपैँयाको कारोबार भएको छ । 

सबैभन्दा धेरै नेपाल टेलिकमको ३ करोड ९३ लाख ९१ हजार ३ सय ७० रुपैँयाको शेयर कारोबार भएको छ  भने नविल बैँक, नेपाल बैँक र सिटिजन बैँकको पनि ३ करोडमाथिको कारोबार भएको छ । २ करोडमाथिको कारोबार गर्ने कम्पनिहरुमा स्टान्डर्ड चार्टर्ड बैँक, नेपाल बंगलादेश बैँक, नेपाल एसबीआई बैँक, नेपाल इन्भेष्टमेन्ट बैँक र सानिमा बैँक रहेका छन् भने एसियन लाइफ इन्स्योरेन्सको कारोबारले डेढ करोड नाघेको छ । 

धेरै कमाउने कम्पनिहरुको सूचीको अग्रस्थानमा भने अरनिको डेभलपमेन्ट बैँक र लुम्बिनी फाइनान्स रहेका छन् । जसको शेयर मूल्य बराबर ९.७४ प्रतिशतले बढेको छ । काष्टमण्डप डेभलपमेन्ट बैँक, यति डेभलपमेन्ट बैँक, टुरिजम डेभलपमेन्ट बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेको अग्रस्थानमा रहेको सहयोगी विकास बैँकको शेयर मूल्य ५.५ प्रतिशतले घटेको छ । बागमती डेभलपमेन्ट बैँक, सिन्धु विकास बैँक, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतले पनि गुमाएका छन् । साताको अन्तिम दिन सबैभन्दा धेरै कारोबार सम्हालेको नेपाल टेलिकमको शेयर मूल्य स्थिर रहेको छ । 

विहिबार सबै समूहहरु सकारात्मक रहेको बजारमा सबैभन्दा धेरै बिमा समूह ५८.५६ अंकले बढ्यो । त्यस्तै, उत्पादनमूलक, विकास बैँक, होटल, वाणिज्य बैँक, फाइनान्स र जलविद्युत् क्रमशः ३२.८, २३.९५, २१.७, १७.९६ , ११.५६ र ७.१९ अंकले बढेका छन् । अन्य समूह विहिबार स्थिर रहेको छ ।