दिनेश यादव / अस्ट्रेलियामा यो वर्ष अर्बपतिहरूको संख्या थपिएको छ । ‘फाइनान्सियल रिभ्यु’ ले जारी गरेको सूचीमा एन्थोनी प्राट १२ दशमलव ६० अर्ब अमेरिकी डलरका साथ सबैभन्दा माथि छन् । उनी कार्डबोर्ड बाकसको उत्पादन र ‘रिसाइकल’ व्यापारबाटै अर्बपति बनेका हुन् । उनको कम्पनी यो व्यवसायमा अस्ट्रेलियामै अग्रस्थानमा छ । एक नम्बरमा रहेका प्राटले व्यापार विस्तार गर्दै अमेरिका पुर्याएपछि उनको सम्पत्तिमा थप वृद्धि भएको हो ।
‘फाइनान्सियल रिभ्यु’ का अनुसार सन् २०१७ को अर्बपति सूचीमा परेका ६० जनाले त ३० वर्षयताको आफ्नो इतिहास दोहोर्याएका छन् । यो सूचीमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले पनि अटाएका छन् । शेष र जमुना घले सूचीको १ सय १ औं स्थानमा छन् । सूचीमा परेका तीनजनाको सम्पत्ति १० अर्ब अमेरिकी डलरभन्दा माथि छ । अस्ट्रेलियाको सर्वाधिक धनाढ्य सूचीमा परेका २२ महिलाहरूमध्ये ८ जना डलर अर्बपति नै छन् । सूचीमा ११ दशमलव ४५ अर्ब अमेरिकी डलरका साथ ह्यारी ट्राइगुबोफ दोस्रो स्थानमा छन् । उनी अपार्टमेन्ट डेभलपमेन्टमा लगानी गर्ने ठूलो व्यापारी हुन् । यसै व्यापारबाट उनी अर्बपति बनेका हुन् । उनको कुल सम्पत्तिमा केही कमी आएपछि यो वर्ष भने पहिलो स्थानबाट दोस्रोमा झरेका छन् ।
यसैगरी तेस्रो स्थानमा कमोडिटी तथा खनिज व्यापार धानेकी गिना रिनेहार्ट छिन् । उनी १० दशमलव ४१ अर्ब अमेरिकी डलरका साथ अस्ट्रेलियाको अर्बपति सूचीमा तेस्रो स्थानमा कब्जा जमाउन सफल भएकी हुन् । अघिल्लो वर्ष उनको कुल सम्पत्ति ६ दशमलव ६ अर्ब डलर मात्रै थियो । कमोडिटी समानहरूको मूल्य ह्वात्तै बढेकाले उनी धेरैलाई उछिन्दै यो स्थानमा पुगेकी हुन् । यी त भए १० अर्ब अमेरिकी डलरभन्दा माथिको सम्पत्ति भएका अर्बपतिहरू । सूचीमा परेका अन्य अर्बपतिमा फ्रान्क लवी ८ दशमलव २६ अर्ब अमेरिकी डलरका साथ चौथो र ग्लेनकोर बोस इभान ग्लासेन्बर्ग ६ दशमलव ८५ अर्ब डलरका साथ पाँचौं स्थानमा छन् ।
तर, अस्ट्रेलियाली अर्बपति/धनाढ्यको कथा यत्तिमै सीमित छैन । सूचीमा परेकाहरूको कुल सम्पत्ति पनि रेकर्ड तोड्ने खालको छ । तिनीहरूको कुल सम्पत्ति २ सय ३३ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । अघिल्लो वर्ष भने यो १ सय ९७ दशमलव ३ अर्ब अमेरिकी डलर थियो । यसको अर्थ अघिल्लो वर्षको तुलनामा प्रत्येक अस्ट्रेलियाली धनाढ्यहरूको सम्पत्ति औसतमा १ दशमलव १६ अर्ब अमेरिकी डलरले बढेको देखिन्छ । गत वर्ष यो वृद्धि दर ९ सय ८७ मिलियन अमेरिकी डलर थियो ।
यसैगरी सन् २०१७ को सूचीमा १० जना नवप्रवेशी धनाढ्यहरूसमेत परेका छन् भने जेम्स फेयरफ्याक्स र माइकेल क्रच सूचीबाट बाहिरिएका छन् । सूचीमा ‘मल्टिप्लेक्स’ का संस्थापक जोहन रोबर्टका ४६ वर्षीय टिम रोबर्टसमेत परेका छन् । उनी ९ सय ८६ मिलियन अमेरिकी डलरका साथ ६२ औं स्थानमा छन् । अस्ट्रेलियाको पर्थ सहरमा उनेको व्यापार फस्टाएको छ । यसैगरी अर्को रोचक कुरो भनेको धनाढ्यमा सूचीकृत गरिएका दुई सयमध्ये ५८ जनाको सम्पत्तिको स्रोत प्रोपर्टी डेभलपमेन्ट कारोबार नै हो । तिनीहरूले प्रोपर्टी डेभलपमेन्ट या व्यावस्थापन व्यापारबाटै धनाढ्य बनेका हुन् ।
एन्थोनी प्राट
कार्डबोर्ड बक्स (कागजको बक्सा) बनाउने र समानहरूको पुनप्र्रयोग (रिसाइकल) कम्पनी ‘भिसाई’ का मालिक हुन् । प्राटको व्यापार अस्ट्रेलिया र अमेरिकामा छ । ५७ वर्षीय प्राट मेलबर्नका बासिन्दा हुन् । सन् २००९ यता पहिलोपटक ‘फाइनान्सियल रिभ्यु’ को सूचीमा उनी अग्रस्थानमा परेका हुन् । सन् १९९१ मा उनले आफ्नो यो व्यापारको विस्तार अमेरिकासम्म गरेका थिए । अमेरिकामा व्यापार थालेपछि उनी कहिल्यै पछाडि फर्केनन् । उनको भिसाई कम्पनी त्यहाँ अस्ट्रेलियामा जति नै लोकप्रिय छ । हाल उनको कम्पनीमा ७ हजारभन्दा बढी कर्मचारी छन् । प्राट आफ्ना बुबा रिचार्डको निधनपछि यो व्यापार सम्हाल्न पुगेका हुन । सन् १९८२ मा उनी एउटा म्यानेजमेन्ट कन्सल्टिङ फर्म ‘म्याकिन्से कम्पनी’ मा जागिरसमेत गरेका थिए । त्यसपछि उनी भिसाईको प्रबन्धक बनेका थिए । आफ्नो पर्फमेन्स राम्रो गरेकै कारण उनी भिसाई उद्योगका सहायक प्रमुख बनाइए ।
तीन वर्ष त्यहाँ काम गरेपछि उनी आफ्नो कम्पनीको विस्तारका क्रममा अमेरिका हानिएका थिए । त्यहाँ प्राट उद्योगले १५ वर्षमा १५ गुणा बढी सम्पत्ति कमाउन सफल भयो । उनको सिकागो नजिकै ‘रिसाइकल पेपर’ कारखाना रहेको छ । सुरुमा उनको परिवारले ‘प्याकेजिङ’ बाट व्यापार थालेको थियो । पछि रिसाइकल र कागजका बाकस बनाउने उद्योग सुरु गरेको थियो । विभिन्न सामग्रीको प्याकेजमा उपयोगी हुने पेपर बाकसको व्यापारबाटै उनी अर्बपति बनेका हुन् ।
ह्यारी ट्राइगुबोफ
प्रोपर्टी डेभलपमेन्ट कम्पनी मेरिटोनका प्रबन्ध निर्देशक हुन् । अस्ट्रेलियाको सिडनी स्काइलाइनमा उनको कम्पनीको कब्जा छ । उनको कम्पनी सहरमा चगनचुम्बी टावरहरू ठड्याउनमा चर्चित पनि छ । अघिल्लो वर्ष उनले १ दशमलव २ अर्ब अमेरिकी डलरमा एउटा अपार्टमेन्ट खरिद गरे । बैंकबाट कमै मात्र ऋण कारोबार गर्ने ह्यारी प्रोपर्टी खरिदकर्ताहरूलाई केही आर्थिक सहयोगसमेत गर्ने गर्छन् । उनको जन्म पूर्वोत्तर चीनमा एउटा रसियाली यहुदी परिवारमा ८४ वर्षअघि भएको हो । ह्यारीको बाल्यकाल चीनको तिआनजिनस्थित यहुदी समुदायमै बित्यो ।
त्यहीँ प्राराम्भिक शिक्षा हासिल गरेपछि उनी उच्च शिक्षा प्राप्तिका लागि अस्ट्रेलियाको सिड्नी हानिए । टेक्सटाइल विषयमा डिग्री हासिल गरेपछि बेलायत हुँदै इजराइल र दक्षिण अफ्रिकामा टेक्सटाइल व्यापार थालेका थिए । संघर्ष गर्दै अघि बढेका थिए । केही वर्ष उतै बिताएपछि सन् १९६० मा अस्ट्रेलिया फर्केको एक वर्षपछि त्यहीँको नागरिकता लिएका थिए । तत्कालै आम्दानीको स्रोत नभएपछि उनले ट्याक्सीसम्म चलाउनुपरेको थियो ।
पछि अन्य व्यापारसँगै रियल इस्टेटमा हात हाले, जुन उनका सफल सावित भयो । आज प्रोपर्टी डेभलेपमेन्ट व्यापारबाटै अर्बपति बनेका छन् । कुनै बेला ट्याक्सी चलाउने अर्बपति बन्न सक्छन् भनेर धेरैले सोच्न सक्तैनन् । तर, आफ्नै परिश्रमको बलमा उनी सफल उद्यमी बनेका छन् ।
गिना रिनेहार्ट
फलामको कच्चा पदार्थ उत्पादन गर्ने कम्पनी ह्यानकक प्रोस्पेक्टिङका प्रमुख हुन् । पिता ल्याङ ह्यानककको निधनपछि गिना यो क्षेत्रमा सक्रिय रूपमा प्रवेश गरेकी हुन् । आफ्नो निरन्तर सक्रियताका कारण उनको कम्पनी फस्टाउँदै गएको हो । उनको कम्पनीले ठूलो परिमाणमा फलामका धाउहरू उत्पादन गर्छ । बेलायतका केही कम्पनीसमेत उनले खरिद गरेका छन् । उनलाई खेलमा रुचि छ । पश्चिम अस्ट्रेलियाको पर्थमा जन्मेका उनी एकजना खनिज व्यापारीकी एक्ली सन्तान हुन् । चार वर्षको उमेरसम्म उनी बुबाआमासँगै बस्न पाएकी थिइन् ।
त्यसपछि पर्थस्थित एउटा स्कुलको होस्टेलमै उनको स्कुले जीवन बित्यो । विद्यार्थी छँदै बुबाको निधनपछि उनले सिड्नी विश्वविद्यालयबाट ड्रपआउट गर्नुपर्र्यो । एउटी छोरीले बुबाले स्थापना गरेको खनिज उद्योगलाई आफ्नो नेतृत्व प्रदान गर्दै उचाइमा पुर्र्याउन उनी सफल भएकी छन् । उनको उद्योगले प्रतिवर्ष ३० मिलियन टन फलामको धाउ उत्पादन गर्ने गर्छ । (एजेन्सीहरूको सहयोगमा) कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट




