मंगलबार नेपाल स्टक एक्सचेन्जमा ५८ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २१ वटा कम्पनिको १४ लाख ७० हजार ३ सय ९ कित्ता शेयर २ हजार ६ सय १५ पटक खरिदविक्रि हुँदा ५८ करोड ६६ लाख ७७ हजार ५० रुपैँयाको कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम उकालो लागेको हो । सोमबार ४६ करोडको शेयर कारोबार भएको थियो । कारोबार रकमसँगै नेप्से परिसूचक पनि ४.७८ अंकले बढेर १३८८.६३ अंकको नयाँ उचाइमा पुगेको छ ।
सबैभन्दा धेरै नेपाल बैँकको ९ करोड ८ लाख ८९ हजार ५ सय ७२ रुपैँयाको शेयर कारोबार भएको छ भने नेपाल ग्रामीण विकास बैँकको ३ करोड २० लाख ३२ हजार ७ सय ३९ रुपैँयाको शेयर कारोबार भएको छ । २ करोडमाथिको कारोबार गर्नेमा नविल बैँक, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैँक छन् भने नविल बैँकको प्रोमोटर शेयर, नेपाल बंगलादेश बैँक, एनएमबी बैँक, सिटिजन बैँक लगायतको १ करोडमाथिको कारोबार भएको छ ।
धेरै कमाउने कम्पनिको अग्रस्थानमा रहेको लुम्बिनी फाइनान्सका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । किसान माइक्रोफाइनान्स, क्लिन भिलेज माइक्रोफाइनान्स, आमी माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिको अग्रस्थानमा रिदि हाइड्रोपावर रहेको छ जसको शेयर मूल्य साँढे ३ प्रतिशतले घटेको छ । तिनउ डेभलपमेन्ट बैँक, कृषि विकास बैँक, अपि पावर कम्पनि, निर्धन उत्थान बैँक, टुरिजम डेभलपमेन्ट बैँक लगायतले पनि गुमाएका छन् ।
मंगलबार जलविद्युत् र फाइनान्स समूह बाहेक सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै होटल समूह १६.७५ अंकले बढेको छ भने वीमा, वाणिज्य बैँक, अन्य र विकास बैँक क्रमशः १०.५६, ६.८२, ३.५२ र १.६३ अंकले बढेका छन् । जलविद्युत् र फाइनान्स क्रमशः ८.७ र ०.२८ अंकले घटेका छन् ।