April 12th, 2016

ठूला परियोजनामा एआईआईबीको लगानी : लगानी फर्किन नदिन यस्तो छ सरकारको होमवर्क

investmentसरकारले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को नेपालमा हुने लगानीलाई मेगा परियोजनामा खर्चन गृहकार्य थालेको छ । विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र अन्य नियमित विकास साझेदारको सहयोगलाई हाल सानातिना आयोजनामा खर्च गरिरहेकोमा सरकारले सय खर्ब रुपैयाँ बराबरको प्रारम्भिक पुँजी रहने एआईआईबीको लगानीका लागि ठूला परियोजना प्रस्ताव गर्ने निर्णय गरेको हो ।   

यस्ता छन् लगानीका क्षेत्रहरु
विमानस्थल, ठूला सडक र ऊर्जाका आयोजनाहरू नै एआईआईबीको लगानीका लागि उपयुक्त हुने भएकाले यी परियोजनालाई लगानीयोग्य अवस्थासम्म विकास गरि निर्माणका लागि एआईआईबीलाई सिफारिस गर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ । एआईआईबीका लागि परियोजना तयारी गरेसँगै नेपालमा परियोजना बैंकसमेत स्थापना गर्ने आयोगको लक्ष्य छ । एआईआईबीले माघमै नेपालले तयारी हालतका आयोजना सिफारिस गरे यही वर्ष (सन् २०१६) देखि लगानी गर्ने जनाइसकेको छ । 

आयोगले एआईआईबीको लगानीका लागि परियोजना तयार पार्न विषयगत मन्त्रालयहरूलाई निर्देशन दिइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा र सञ्चार मन्त्रालयका सचिव र पदाधिकारीलाई आयोजना तयारीको गृहकार्यमा जुट्न निर्देशन दिइएको आयोगले जनाएको छ ।

तयारी नपुग्दा फर्किए लगानी
आयोजनाहरुमा तयारी नपुग्दा नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ता पनि फर्किनुपरेको आयोगले जनाएको छ । यसैकारण पनि विस्तृत अध्ययन र अन्य समस्या समाधान भएका आयोजना तयारी हालतमा राख्न आयोगले मन्त्रालयहरूलाई सुझाएको छ । लगानीयोग्य सबै आयोजना परियोजना बैंकमै राख्ने र लगानीकर्तालाई बैंकबाटै परियोजना छनोट गर्न दिने गरी आगामी बजेट र योजनामै यससम्बन्धी व्यवस्था गरिने आयोग स्रोतले जनाएको छ ।