April 11th, 2016

मर्जरमा जाने अन्तिम प्रकृया तोड्यो माछापूछ्रे बैँकले

machha jantaमाछापुच्छ्रे बैंक र जनता बैंकबीचको मर्जर प्रक्रिया तोडिएको छ । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा कुरा नमिलेपछि राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृत लिनुपर्ने ठीक हप्तादिन अघि दुई बैंकबीचको मर्जर प्रक्रिया तोडिएको हो । 

गत असोज ३ गते दुई बैंकबीच मर्जरमा जाने सैद्दान्तिक सहमति भएको थियो । राष्ट्र बैंकले पनि यी संस्थालाई मर्जरको सैद्दान्तिक सहमति दिइसकेको थियो । सैद्दान्तिक सहमति अनुसार माछापुच्छ्रे बैंकको प्रतिकित्ता १ सय ९ रुपैयाँ र जनता बैंकको ८२ रुपैयाँ स्वाप रेसियो निर्धारण गरिएको थियो । जसअनुसार माछापुछ्रेको सय कित्ता सेयर बराबर जनता बैंकको ७५ कित्ता सेयर हुन्थ्यो । तर, माछापुच्छ्रे बैंकले स्वाप रेसियोमा जनता बैंकको प्रतिकित्ता सेयरमूल्य ४५ रुपैयाँ हुनुपर्ने भन्दै ७ दिनभित्र जवाफ पठाउन पत्राचार गर्यो । जनता बैंकले पहिलेकै सहमति अनुसार मात्रै मर्जरमा जान सकिने जवाफ पठाएपछि दुई संस्थाबीचको मर्जर प्रक्रिया अवरुद्ध भएको हो । दुई वाणिज्य बैंकबीच मर्जरको सैद्दान्तिक सहमति भएर प्रक्रिया तोडिएको यो पहिलो घटना हो ।

संयुक्त मर्जर कमिटिमा जनता बैंकका तर्फबाट गुरुप्रसाद न्यौपाने, केशबबहादुर रायमाझी र भिमानन्द ढुंगाना थिए भने माछापुच्छ्रेका तर्फबाट बीरेन्द्र महतो, ज्ञानप्रसाद कर्मचार्य र रोसन केसी थिए ।