शिवहरि घिमिरे / राष्ट्रिय बाणिज्य बैंकका नवनियुक्त सिइओ किरण श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकलाई एक वर्षभित्र नेपालका बैंकहरुमध्ये उत्कृष्ट बैंक बनाउने घोषणा गरेका छन् । पदभार सम्हालेलगत्तै बैकिङ खबर डट कमसँग कुरा गर्दै नवनियुक्त सिइओ श्रेष्ठले यस्तो घोषणा गरेका हुन् ।
बाणिज्य बैंकलाई एक नम्बरको बैंक बनाउन दुर्गम क्षेत्रहरुमा शाखा विस्तार गर्ने र वित्तिय साक्षरताका कार्यक्रमहरुमा केन्द्रित भई काम अघि बढाउने उनको भनाई थियो । नयाँ र लोकप्रिय कार्यक्रमहरुमार्फत आफुले बैंकलाई अघि बढाउने रणनीति बनाएको भन्दै उनले ती रणनीतिहरु कार्यान्वयन भएपछि सबैले महशूस गर्ने प्रतिक्रिया दिए ।
आफुले पदभार ग्रहण गरेसँगै यसअघि रोकिएका सबै काम सुचारु गर्ने नवनियुक्त सिइओ श्रेष्ठले बताए । उनले कर्मचारी व्यवस्थापनको कामलाई पनि तदारुकताका साथ अघि बढाउने बताए । श्रेष्ठले बाणिज्य बैंकमा रिक्त पदहरुमा पनि यथाशक्य चाँडै पदपूर्ति गर्ने जनाए ।
श्रेष्ठले (आज) सोमबारबाट पादभार ग्रहण गरेसँगै लामो समयपछि बाणिज्य बैंकले नयाँ सिइओ पाएको छ । यसअघि बैंकले सिईओ पदका लागि कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई पहिलो नम्बर र श्रेष्ठलाई बैकल्पिक दाबेदारको रुपमा अघि सारेको थियो । तर कर्मचारी सञ्चय कोषमा प्रशासकको रुपमा कार्यरत आचार्यको राजीनामा अर्थमन्त्री विष्णु पौडेलले स्वीकृत गर्न नमानेपछि अर्थमन्त्रीका विश्वासपात्र मानिएका दोश्रो पंक्तिका दाबेदार श्रेष्ठ सिईओ बनेका हुन् । सिईओ पदभार ग्रहण गर्न (हिजो) आईतबार बैंकले पत्रचार गरेपछि (आज) सोमबारबाट उनले पदभार सम्हालेका हुन् । वाणिज्य बैंक ४ महिनादेखि सिईओ विहिन अवस्थामा थियो ।