साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा ६७ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय ३० वटा कम्पनिको ११ लाख २७ हजार १ सय ५ कित्ता शेयर ३ हजार १ सय १८ पटक किनबेच हुँदा कुल ६७ करोड ३४ लाख ७ हजार ३ सय रुपैँयाको कारोबार भएको हो । परिसूचक आइतबार ५ अंकले बढेर १३८२.४२ अंकमा पुगेको छ ।
आइतबार सबैभन्दा धेरै नविल बैँकको प्रोमोटर शेयरको ६ करोड ४५ लाख १८ हजार १ सय २६ रुपैँयाको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँकको ५ करोड ५८ लाख माथिको कारोबार भएको छ भने नेपाल बंगलादेश बैँकको ४ करोड ७४ लाख माथिको कारोबार भएको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयर र ग्लोबल आइएमई बैँकको ३ करोडमाथिको कारोबार भएको छ । २ करोडमाथिको करोबार गर्नेमा कृषि विकास बैँक, एनएमबी बैँक र एभरेष्ट बैँक रहेका छन् । नेशनल लाइफ इन्स्योरेन्स, सानिमा बैँक लगायतको १ करोड माथिको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा भने प्रोग्रेसिभ फाइनान्स रहेको छ जसको शेयर मूल्य ७.४३ प्रतिशतले बढेको छ । साहारा विकास बैँक, बागमती डेभलपमेन्ट बैँक, नेपाल इन्भेष्टमेन्ट बैँक, हिमालयन बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनिको अग्रस्थानमा रहेको नेपाल इन्स्योरेन्स कम्पनिको शेयर मूल्य ३.७८ प्रतिशतले घटेको छ । सगरमाथा फाइनान्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार सम्हालेको नविल बैँकको प्रामोटर शेयरको मूल्य सामान्य ०.९७ प्रतिशतले बढेको छ ।
वाणिज्य बैँक, फाइनान्स, उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूहका शेयर ओरालो लागेका छन् । सबैभन्दा धेरै वीमा समूहको शेयर ४६.१५ अंकले घटेको छ भने होटल, जलविद्युत् र विकास बैँक क्रमशः ५.६१, ४.९७ र १.५८ अंकले घटेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह २१.१७ अंकले बढेको छ भने वाणिज्य बैँक, फाइनान्स र अन्य समूह क्रमशः १०.७३, १.४४ र १.१८ अंकले बढेका छन् ।