इँटाको मागमा कमी आएपछि मूल्य घटेको छ । दुई वर्षअघि प्रतिहजारको १३ हजार रुपैयाँ मूल्य पर्ने इँटा अहिले घटेर नौ हजारमा आएको सेती इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाहले बताए । “भूकम्प आएदेखि नै इँटाको कारोबार बन्द भएको हो,” उनले भने– “भूकम्पकै कारण नयाँ संरचना निर्माणको काम बन्द भएपछि माग घटेको हो ।”
व्यवसाय जसोतसो चलाउन र उद्योगमा कार्यरत मजदुरलाई ज्यालासम्म दिन पनि अहिले व्यवसायीले लागत मूल्यमा इँटा बिक्री गर्नु पर्ने अवस्था आएको उनले बताए । उत्पादन भएको इँटाको माग घटेपछि यसको बिक्री मूल्यमा निकै कमी आएको अर्का व्यवसायी केशव भट्टले बताए ।
बैंक तथा वित्तीय संस्थाले घर जग्गा निर्माणमा ऋण दिन बन्द गरेकाले पनि निर्माण कार्य अपेक्षित रुपमा हुन नसक्दा इँटाको खपत घटेको हो । बैंकले ऋण प्रवाह बन्द गरेपछि व्यवसाय नै सञ्चालन गर्न कठिन भएको भट्टको भनाइ छ ।
केही वर्षयता चिम्नी इँटा उद्योग बढ्दै गएसँगै इँटाको उत्पादन परिमाण बढ्दै गएको छ । कैलालीमा मात्रै करिब ४५ वटा चिम्नी इँटा उद्योग रहेको बताइएको छ । यी प्रत्येक उद्योगले वार्षिक ३० लाखदेखि ३५ लाख गोटा इँटा उत्पादन गर्दै आएका छन् । रासस


