April 8th, 2016

कार्यान्वयन हुँदै बहुप्रतिक्षित बिमा कार्यक्रम : इलाम र बाग्लुङमा छिट्टै लैजाने तयारी 

health insuranceसरकारले बहुप्रतिक्षित स्वास्थ्य बिमा कार्यक्रम कैलालीबाट कार्यान्वयनमा ल्याएको छ । बिहिबारदेखि सरकारले ५० करोड रुपैयाँ छुट्याइएको बिमा कार्यक्रम कैलालीको धनगढी नगरपालिकाबाट कार्यान्वयनमा ल्याएको हो । स्वास्थ्य बिमा कार्यक्रमका लागि गत वर्ष सरकारले एक अर्ब रुपैयाँ छुट्याए पनि काम हुन सकेको थिएन । सरकारले तीन वर्षपहिले नै सञ्चालन गर्ने भन्दै घोषणा गरेको उक्त स्वास्थ्य बिमा कार्यक्रम बल्ल कार्यान्वयनमा आएको हो । यसअघि गृहकार्यको नपुगेकाले कार्यक्रम रोकिएको थियो । 

नमुनाका रुपमा सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा बिहिबार कैलालीमा ३० जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन् । कार्यक्रम सुरु गर्न कैलाली पुगेका स्वास्थ्य मन्त्रालयका सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका सदस्य शाखा अधिकृत तुल्सी भट्टराईले सरकारी स्वास्थ्य बिमाको सदस्यता लिएका परिवारका सदस्यले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने जानकारी दिए । नमुनाका रूपमा कैलालीमा बिहीबार सुरु भएको स्वास्थ्य बिमा सरकारले चाँडै बागलुङ र इलाममा पनि लागू गर्ने भएको छ ।

बिमा सदस्य भए के हुन्छ ?
सरकारले ल्याएको यो बिमा कार्यक्रमको सदस्यता लिनेले स्वास्थ्यमा जुनसुकै समस्या आए पनि सरकारले तोकेका स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार पाउनेछन् । एकैपटक ठूलो रकम तिरेर उपचार गर्ने क्षमता धेरै नेपालीमा नभएको अवस्था भएकाले यो कार्यक्रमको प्रभावकारीता बढ्ने अनुमान गरिएको हो । 

ओपीडी जाँचदेखि ६६ प्रकारका रोगको निःशुल्क उपचार वा शल्यक्रिया गरिने भनिए पनि अन्य आवश्यक स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार हुने भएकाले कुनै पनि दुविधामा नपर्न बिमा सदस्यता लिएकालाई शाखा अधिकृत भट्टराईले गरे । बिमा सदस्यता लिएको एक महिनापछि निःशुल्क उपचार सेवा लिन पाइनेछ ।

बिमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक दुई हजार पाँच सय ‘प्रिमियम’ बुझाएपछि ५० हजार रुपैयाँसम्मको उपचार पाउनेछन् । एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले चार सय ५० रुपैयाँ वार्षिक प्रिमियम बुझाएमा १० हजार रुपैयाँको उपचार सेवा थप हुने उनले बताए  । बिमाका लागि अति गरिब परिवारको ‘प्रिमियम’ सरकारले बुझाउनेछ । गरिब परिवारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिवारका लागि ५० प्रतिशत ‘प्रिमियम’ सरकारले तिर्नेछ ।

यस वर्ष तीन जिल्लामा नमुनाका रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भनिए पनि स्वास्थ्यमन्त्री रामजनम चौधरीको पहलमा उनकै गृहजिल्ला कैलालीबाट यो सुरु गरिएको हो । स्रोतकाअनुसार कैलालीपछि बागलुङ र इलाममा पनि छिट्टै उक्त बिमा कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले तयारी गरेको छ ।