Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुक्ता पुँजी नजिक पुगेका २० वटा बैंकहरु

२०७३ चैत्र १० गते

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अबको पाँच महिनामा वाणिज्य बैंकहरुले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ । हाल संचालित २८ वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकको चुक्तापुँजी पाँच अर्बमाथि छ । यीमध्ये पनि राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी आठ अर्ब पुगिसकेको छ । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि नीति आउनु अघि नै राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी आठ अर्बभन्दा बढी थियो । सरकारी स्वामित्वको यस बैंकको चुक्तापँजी हाल ८ अर्ब ५८ करोड रुपैयाँ छ । यता, नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी ८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । बैंकले केही महिनाअघि मात्रै आठ अर्बभन्दा बढी चुक्तापुँजी पुर्याएको हो । नेपाल राष्ट्र बैंकद्वारा निर्धारित चुक्ता पुँजीको मापदण्ड पूरा गर्ने नेपाल इन्भेष्टमेण्ट पहिलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको हो ।

यीबाहेक केही बैंक स्पष्ट रुपमा आठ अर्ब नजिक देखिएका छन् । 
ग्लोबल आईएमई बैंक
प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर ग्लोबल आईएमई बैंकले सात अर्ब १५ करोड पाँच लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । साथमा बैंकले ७८ करोड ८५ लाख रुपैयाँ चुक्तापुँजी भएको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वाएर गर्दैछ । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुँजी आठ अर्ब पुग्ने यो बैक दोस्रो हुनेछ ।

हिमालयन बैंक लिमिटेड
सात बराबर एकको अनुपातमा हकप्रद सेयर र हकप्रद वितरणअघिको चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर जारी गरेर हिमालयन बैंकले छ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । पुँजी बढाउन बैंकले मर्जरमा जाने योजना भने बनाएको छैन । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने र आवश्यक परे थप हकप्रद सेयर जारी गर्ने योजना बैंकको छ । 

नेपाल बैंक लिमिटेड
छ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको नेपाल बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्ता पूँजी पुर्याउनको लागि आगामी वर्ष १०ः२.३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ । यस बाहेक चुक्ता पूँजी वृद्धि गर्न र बैंकको अवस्थालाई अझ सुदृढ बनाउन अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जमा जाने वा एक्वायर गर्ने योजना समेत रहेको बैंकले जनाएको छ ।

नबिल बैंक लिमिटेड
गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेर नबिल बैंक लिमिटेडले छ अर्ब १८ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । यसबाहेक, चालू आर्थिक वर्षको मुनाफाबाट पनि ३० प्रतिशत बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तपुँजी नघाउने बैंकको योजना छ ।

कृषि विकास बैंक लिमिटेड
हालै तीन अर्ब ९३ करोड ९६ लाख रुपैयाँ चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेर पाँच अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुँजी पुर्याएको कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिँदैछ । जसपश्चात् बैंकको पुँजी सात अर्ब नाघ्नेछ । चालू आर्थिक वर्षको कमाईबाट पनि २० प्रतिशत बोनस सेयर जारी गरेर चुक्तापुँजी आठ अर्ब नघाउने बैंकको योजना छ ।

प्रभु बैंक लिमिटेड
हाल पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्तापुँजी भएको प्रभु बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा  हकप्रद सेयर निष्काशन गरेर चालू आर्थिक वर्षमा नै चुक्तापुँजी आठ अर्ब २३ करोड रुपैयाँ पुर्याउँदैछ । चुक्ता पुँजी पुर्याउने प्रयासमा प्रभुले यसअघि ८ वटा संस्थालाई आफुमा गाभिसकेको छ ।

एनआईसी एसिया बैंक
गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेर एनआईसी एसिया बैंकले पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । यसबाहेक, बैंकले १५ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । बैंकको हकप्रद सेयर आगामी चैत्र १५ गतेदेखि खुल्दैछ । उक्त हकप्रद जारी गरिसकेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेर पुर्याउन सकिने देखिन्छ । 

माछापुछ्रे बैंक लिमिटेड
तीन अर्ब ८६ करोड ४५ लाख रुपैयाँ चुक्तापुँजी भएको माछापुछ्रे बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी पाँच अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ । यसबाहेक बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई हाल कायम चुक्तापुँजीको २० दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ । जसपश्चात् बैंकको पुँजी छ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर आठ अर्ब पाँच करोड ८५ करोड ७० लाख रुपैयाँ चुक्तापुँजी पुर्याउने योजना बैंकको छ । बैंकले मर्जर तथा एक्विजिसनको विकल्प पनि खुला राखेको छ ।

एनसीसी बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रस्ट्रक्चर डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई खरिद गरेर पाँच अर्ब ६६ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने योजना बनाएको छ । साथै, मर्जरपछि कायम हुने चुक्तापुँजीबाट ५० देखि ९० करोडसम्मको हकप्रद सेयर जारी गर्ने योजना बैंकको छ । 

बैंक अफ काठमाण्डू लुम्बिनी
गत आर्थिक वर्षको मुनाफाबाट २३ प्रतिशत बोनस सेयर जारी गरेर बैंक अफ काठमाण्डू लुम्बिनीले पाँच अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । बैंकले दुई अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्दैछ । जसपश्चात्, बैंकको चुक्तापुँजी आठ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।

प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंकले २३ प्रतिशत बोनस सेयर र ३३.३ प्रतिशत हकप्रद सेयर जारी गरेर पाँच अर्ब ५९ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । यसबाहेक बैंकले ४२ करोड रुपैयाँ चुक्तापुँजी भएको बिराटलक्ष्मी र ३३ करोड रुपैयाँ चुक्तापुँजी भएको कन्ट्री डेभलपमेन्ट बैंकलाई किन्ने सम्झौता गरिसकेको छ । जसपश्चात् बैंकको चुक्तापुँजी सवा छ अर्ब नाघ्नेछ । यो बैंकले पनि चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर आठ अर्ब पुँजी पुर्याउन सक्ने देखिन्छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
हाल पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्तापुँजी भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १० बराबर २.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । जसपश्चात्, बैंकको चुक्ता पुँजी छ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । बाँकी एक अर्ब आठ करोड रुपैयाँ पुँजी बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर पुर्याउन सक्ने देखिन्छ । 

एनएमबि बैंक लिमिटेड
पाँच अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिँदैछ । जसपश्चात् बैंकको चुक्तापुँजी छ अर्ब ४६ करोड रुपैयाँ नाघ्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउने बैंकको योजना छ । 

सनराइज बैंक लिमिटेड
हालै एनआईडीसी क्यापिटल मार्केट्सलाई खरिद गरेर एकीकेृत कारोबार थालेको सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३३.३३ प्रतिशत बोनस सेयर जारी गरेर पाँच अर्ब ३० करोड १३ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । यसबाहेक बैंकले ३० प्रतिशत अर्थात १० कित्ता बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । जसपश्चात् बैंकको चुक्तापुँजी झन्डै छ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । बाँकी पुँजी पुर्याउन बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयरको सहारा लिन सक्ने देखिन्छ ।

सानिमा बैंक
बागमती डेभलपमेन्ट बैंकलाई एक्वाएर गरी गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर समेत जारी गरिसकेको सानिमा बैंकको चुक्तापुँजी पाँच अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसबाहेक बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । हकप्रद सेयर जारी गरेपछि सानिमाको चुक्तापुँजी पौने सात अर्ब रुपैयाँ नाघ्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर सानिमाले सजिलै आठ अर्ब चुक्तापुँजी पुर्याउन सक्छ । 

लक्ष्मी बैंक लिमिटेड
प्रोफेशनल दियोलो विकास बैंकलाई खरिद गरेर तीन अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेर चुक्तापुँजी छ अर्ब ३० करोड रुपैयाँ पुर्याउँदैछ । हकप्रद निष्काशनका लागि बैंकले धितोपत्र बोर्डको अनुमति पाइसकेको छ । हकप्रदपछि बैंकले १८.२९५ प्रतिशत बोनस सेयर जारी गरि चुक्तापुँजी सात अर्ब ४६ करोड रुपैयाँ पुर्याउने भएको छ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर पुर्याउनेछ ।

जनता बैंक नेपाल लिमिटेड
दुई अर्ब ३० करोड रुपैयाँ चुक्तापुँजी भएको जनता बैंकले त्रिवेणी विकास बैंकसँग मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरिसकेको छ । यसबाहेक, बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउँदैछ । सिद्धार्थसँग एक्विजिसन सम्झौता गर्नुअघि नै ६० प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने घोषणा गरिसकेको बैंकले हकप्रदको निर्णयबारे पुनर्विचार गर्ने बताइएको छ । 

नेपाल एसबीआई बैंक लिमिटेड
तीन अर्ब ८८ करोड रुपैयाँ चुक्तापुँजी भएको नेपाल एसबीआई बैंकले २८ प्रतिशत बोनस सेयर जारी गरेर झन्डै पाँच अर्ब चुक्तापुँजी पुर्याउँदैछ । बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया पनि अघि बढाइसकेको छ, जसपश्चात् बैंकको चुक्तापुँजी झन्डै सात अर्ब रुपैयाँ पुग्नेछ । यसबाहेक, चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर आगामी असार मसान्तसम्ममा आठ अर्ब दुई करोड ४२ लाख रुपैयाँ चुक्तापुँजी पुर्याउने योजना बैंकको छ । 

मेगा बैंक नेपाल लिमिटेड
चार अर्ब एक करोड २० लाख रुपैयाँ चुक्तापुँजी भएको मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक मर्जरमा जाँदैछन् । यसबाहेक, मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर र बोनसपछिको चुक्तापुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । तीन वटै प्रस्ताव मेगाको विहीबार हुन लागेको साधारणसभामा लगिँदैछ । बोनस र हकप्रद जारी गरेपछि टुरिजमसँग मर्जरमा जानुअघि नै मेगाको चुक्तापुँजी साढ सात अर्ब नाघ्नेछ । टुरिजमसँगको मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी नौ अर्ब रुपैयाँ नाघ्नेछ । 

नेपाल बंगलादेश बैंक लिमिटेड
गत वर्षको मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर जारी गरेर नेपाल बंगलादेश बैंकले चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ पुर्याएको छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । जसपश्चात्, बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर सजिलै पुर्याउन सक्ने देखिन्छ ।