April 6th, 2016

बुधबारको शेयर बजार : ५५ करोडको कारोबार, सामान्य बढ्यो परिसूचक

economic 2बुधबार नेपाल स्टक एक्सचेन्जमा ५५ करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २३ वटा कम्पनिको ९ लाख ७९ हजार ६ सय ९४ कित्ता शेयर २ हजार ८ सय ४९ पटक खरिदविक्रि हुँदा ५५ करोड ६० लाख ५० हजार १ सय २३ रुपैँया बराबरको कारोबार भएको हो । कारोबार रकम मंगलबारको तुलनामा थोरै बढी हो । मंगलबार ५४ करोडमाथिको शेयर कारोबार भएको थियो । नेप्से परिसूचक पनि सामान्य २.१६ अंकले बढेर १३७७.४२ अंकमा कायम भएको छ । 

सबैभन्दा धेरै नेपाल बंगलादेश बैँकको ५ करोड २५ लाख ८९ हजार ७ सय ८० रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँक र नेपाल बैँकको ३ करोडमाथिको कारोबार भएको छ । २ करोडमाथिको कारोबार गर्नेमा शिखर इन्स्योरेन्स, इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयर, स्टान्डर्ड चार्टर्ड बैँक र सनराइज बैँक छन् । सिटिजन बैँक, ग्लोबल आईएमई बैँक, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको १ करोडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको हामा मर्चेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ भने बागमती डेभलपमेन्ट बैँक र महाकाली विकास बैँकको शेयर मूल्य क्रमशः ९.७६ र ९.६२ प्रतिशतले बढेको छ । नेपाल ग्रामीण विकास बैँक, कालिञ्चोक डेभलपमेन्ट बैँक, नागरिक लगानी कोष, युनिक फाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले ५.७३ प्रतिशतले गुमाएका छन् । सेती फाइनान्स, कन्ट्री डेभलपमेन्ट बैँक, मन्जुश्री फाइनान्स, युनाइटेड फाइनान्स, ग्लोबल आइएमई बैँक, सगरमाथा फाइनान्स लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार गरेको नेपाल बंगलादेश बैँकका लगानीकर्ताले ०.३६ प्रतिशतका दरले कमाएका छन् । 

होटल, विकास बैँक, जलविद्युत् र अन्य समूह घटेका छन् भने वाणिज्य बैँक, वित्त, विमा र यत्पादनमूलक समूह बढेका छन् । सबैभन्दा धेरै विमा समूह ३९.२२ अंकले बढेको छ भने जलविद्युत् समूह ९.७५ अंकले घटेको छ । त्यस्तै, होटल अन्य र विकास बैँक क्रमशः ७.९८, १.१८ र ०.३५ अंकले घट्दा वित्त, वाणिज्य बैँक र उत्पादनमूलक समूह क्रमशः ८.४४, १.३३ र ०.६२ अंकले बढेका छन् ।