April 6th, 2016

खोटाङका सांसदले सोधे – हामीकहाँ बैंक खोई ?

bankखोटाङका सांसदहरुले द्धन्द्धकालमा विस्थापित भएको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको शाखा पुनःस्थापनाको माग गरेका छन् । सांसदद्धय विशाल भट्टराई र पाँचकर्ण राई नेतृत्वको टोलीले राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा पुगेर बैंक सञ्चालनको माग गर्दै डेलीगेसन बुझाएका छन् । तत्कालीन शसस्त्र द्धन्द्धकालमा २०५८ सालबाट विस्थापित वाक्सिलास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तथा हलेसी र चिसापानीस्थित कृषि विकास बैंकको शाखा कार्यालय पुनःस्थापनाको माग गरेका हुन् । 

बैंक बन्द भएपछि गाउँलेहरुले घण्टौँ हिँडेर बैंकिङ सेवा लिनु परेको गुनासो गर्दै बन्द भएको बैंकहरु सञ्चालनमा आउँदा आफूहरुलाई ठूलो राहत मिल्ने सांसद विशाल राईले बताए । टोलीले ऐँसेलुखर्कमा पुनःस्थापनाको अन्तिम तयारी भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयलाई तत्काल सञ्चालनमा ल्याउन पनि राष्ट्र बैंक समक्ष माग गरेका छन् । टोलीले राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीलाई भेटेर बैंकको शाखा विस्तारको लागि पत्राचार पनि गरेका छन् । जवाफमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले २०७३ सालको बैशाख महिनाभित्रै एउटा शाखा विस्तार गरिसक्ने गरि तयारी रहेको जानकारी दिँदै अन्य स्थानहरुमा क्रमशः गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।