पानामाको मोसाक फोन्सेकाबाट खुलासा भएको कर छलीसम्बन्धी गोप्य दस्तावेजमा सात नेपालीको नाम परेको विषयमा छलफल गर्न सम्पति शुद्धिकरण अनुसन्धान विभागले राष्ट्र बैंकसहितका सरोकारवाला निकायलाई डाकेको छ । विभागले छलफलका लागि राष्ट्र बैंकसहित राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीका अधिकारीहरुलाई मध्यान्न १२ बजे सम्पत्ति शुद्धिकरण विभागको कार्यालय पुल्चोकमा छलफलका लागि बोलाएको हो ।
"पानामा पेपर्समा नेपालसंग सम्बन्धित केही व्यक्ति वा संस्था समेत जोडिएको चर्चाबारे छलफल गर्न राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीसंग छलफल गर्न लागेका हौँ," सम्पति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशक दामोदर रेग्मीले भने, "पानामा पेपर्समा आएको सुचनाका आधारमा गैरकानुनी रकमलाई कानुनी बनाउने सम्पत्ति शुद्धिकरण प्रकृयासंग त्यसको सम्बन्ध भएनभएको पत्ता लगाउन छलफल केन्द्रित हुने छ ।"
यसअघि मंगबार नेपाल राष्ट्र बैंकले पनामा पेपर्समा खुलासा भएको सात नेपालीले पनि नेपालमा त्यस्तो व्यवसाय चलाएको हुन सक्ने भन्दै त्यस्ता बैंक खाताबारे अध्ययन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई मौखिक निर्देशन दिएको थियो । केहीदिनअघि खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे) ले व्यवसायीलाई कानुनी परामर्श दिने पनामाको ‘मोसाक फोन्सेका’ को अतिगोप्य दस्ताबेजबारे खुलासा गरेको थियो । सो खुलासामा विश्वका शक्तिशाली नेता, व्यवसायी, कलाकारदेखि खेलाडीसम्मले कसरी कर छलेका छन् भन्ने कुरा देखाईएको छ । खुलासा गरिएको सो सूचिमा नेपालबाट पनि सातजना भएको बतार्ईएको छ । तर ती को को हुन् भन्ने कुरा भने खुलाईएको छैन । ती व्यक्तिहरुले नेपालमा पनि कर छलेर व्यवसाय सन्चालन गरिरहेको हुनेतर्फ सचेत हुँदै सम्पति शुद्धिकरण विभाग र राष्ट्रबैंकले चासो देखाएका हुन् । विश्वकै अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने पनामा काण्डले संसारभरिको राजनीति र राजतीज्ञमा तरंग पैदा गरिदिएको छ । यो खुलासाअनुसार नेपालमा त्यस्ता व्यक्तिहरु सक्रिय छन् जो कर छली गर्न पनामासंग जोडिएका छन् ।