बैँकमा कर्मचारी युनियन गठन गर्ने विषयमा बैँकका कार्यकारी अधिकृत समेत रहेका बैंकर्स संघका दुई पदाधिकारीहरुबिच मतभेद देखिएको छ । एनएमबी बैँकका सीईओ समेत रहेका बैँकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल र मेगा बैँकका सीईओ समेत रहेका बैँकर्स संघका उपाध्यक्ष अनिल केशरी शाहबिच नीजि बैँकमा युनियन गठन गर्ने विषयमा मतभेद देखिएको हो ।
विभिन्न बैंकहरुमा कर्मचारी युनियन गठन हुनुपर्ने कर्मचारीहरुले माग गरिरहेका बेला बैंकर्स संघका अध्यक्ष पौडेलले बैंकमा कर्मचारी युनियनको आवश्यकता नभएको बताए । बैंकको संचालन र व्यवस्थापन प्रणाली पारदर्शी भए बैंकमा कुनै युनियनको आवश्यकता नपर्ने उनको भनाई थियो । बैंकिङ खबरका लागि संक्षिप्त कुरा गर्दै बैंकर्स संघका अध्यक्ष पौडेलले भने, ‘कर्मचारीहरुको हकहितका लागि युनियनकै आवश्यकता छैन । बैंकअनुसार हुन्छ । राम्रो व्यवस्थापनले कर्मचारीको समस्या र आवश्यकता सम्बोधन आफैँ गर्न सक्छ ।’ उनले आफ्नो बैंकमा कर्मचारी युनियन गठनको कुनै प्रस्ताव कर्मचारीहरुबाट नआएको र गठन नहुने पनि बताए ।
त्यस्तै बैंकर्स संघका उपाध्यक्ष शाहले भने एउटा राम्रो बैंकमा कर्मचारी युनियन आवश्यक हुने बताए । उनले भने, ‘कर्मचारी युनियन आवश्यकता हो । बैंकलाई स्वच्छ ढंगले चलाउन कर्मचारी युनियनले भूमिका खेल्न सक्छ । तर विधि र प्रक्रियागत ढंगबाट चल्नुपर्छ ।’
गएको भदौमा कर्मचारी युनियन गठन गर्न नदिएको भन्दै पोखरा केन्द्रीय कार्यालय भएको माछापुछ्रे बैंकका कर्मचारी आन्दोलनमा उत्रिएर बैंकको काम नै ठप्प पारेका थिए । आन्दोलन साम्य पार्न माछापुछ्रे बैंक संचालक समितिले युनियन गठनको अनुमति दिएको थियो । त्यसयता मेगा बैंकले पनि कर्मचारी युनियन गठनको अनुमति दिएको थियो ।