Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता समस्यामा बैंकर्स नै दोषी

२०७३ फाल्गुन २२ गते

एउटा बैंकमा रहेको आफ्नो निक्षेप फिर्ता लिएर वा निक्षेपको आधारमा ऋण लिएर अर्को बैंकमा निक्षेपकर्ताले निक्षेप राख्न थालेपछि बैंक तथा वित्तीय संस्थामा तरलता समस्या अझ गहिरिदै जाने देखिएको छ । ब्याजदरमा ठूलो अन्तर आएपछि निक्षेपकर्ताले एउटै बैंकमा पनि निक्षेपको स्किम बदल्ने वा एउटा बैंकबाट अर्को निक्षेप निकालेर अर्कोमा राख्ने गरिरहेका बैंकहरुले बताएका छन् । जसको कारण तरलता संकट अझ गहिरो बन्दै गएको हो । एउटा बैंकबाट पैसा निकालेर अर्कोमा लाने सट्टेबाजीले तरलता समस्यालाई झन् जटिल बनाउन सहयोग गरेको विश्लेषकहरूको भनाई छ । तर, यस्तो चक्र सिर्जना हुनु वा निक्षेपकर्ताले बढी ब्याज आउने ठाउँमा निक्षेप स्थानान्तरण गर्नु स्वाभाविक भएको पनि विज्ञहरूले बताएका छन् । उनीहरुका अनुसार पुँजी र निक्षेपमा कर्जाको अनुपात (सिसिडी रेसियो) सजिलै कायम गरिरहेका बैंकहरूले पनि तुरुन्तै ब्याजदर बढाउनुपर्ने अवस्था सिर्जना गर्न निक्षेपको सट्टेबाजीले काम गरेको देखिएको छ ।

कसरी सुरु भयो सट्टेबाजी ?

सट्टेबाजीको क्रम बढ्नुमा बैंकहरुले पछिल्लो पटक लिएको रणनीतिलाई प्रमुख मान्न सकिन्छ । किनभने उनीहरुले निक्षेपकर्तालाई असमान ब्याज दिने रणनीति अपनाए । बैंकहरूले बचत खातामा १ देखि ५ प्रतिशत ब्याज दिइरहँदा मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर पुर्याए । यसरी धेरै ब्याज पाउने भएपछि निक्षेपकर्ताले एउटा बैंकबाट निक्षेप फिर्ता लिएर अर्कोमा सार्न थाले ।  

कल खाताबाट मुद्दतीमा सार्ने क्रम बढ्यो

यस्तै निक्षेपकर्ताले कम ब्याज आउने बचत र कल (माग तथा अल्पकालीन सूचनामा आधारित निक्षेप) खाताबाट मुद्दती खातामा पैसा सार्ने क्रम पनि बढेको छ । त्यसबाहेक पहिले नै सस्तो ब्याजमा मुद्दती खातामा राखिएको निक्षेप फिर्ता गर्ने वा सोही निक्षेपको आधारमा ऋण लिएर अर्को बैंकमा पुनः निक्षेप राख्ने क्रम पनि बढेको छ । बैंकहरूले पुराना मुद्दती खाताको सम्झौता भंग (कन्ट्रयाक्ट ब्रेक) गर्न रोक लगाएपछि ग्राहकले ऋण लिएर पनि अर्को बैंकमा निक्षेप राख्न थालेको बैंकरहरू बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा रहेको रकमको ८० देखि ९० प्रतिशतसम्म कर्जा दिने गरेका छन् । यसमा बैंकले निक्षेपकर्तालाई दिइरहेको ब्याजमाथि डेढदेखि २ प्रतिशत थपेर कर्जाको ब्याजदर निर्धारण हुन्छ । यसो गर्दा पनि निक्षेपकर्तालाई फाइदा हुन्छ । त्यसैगरी कल निक्षेपमा पनि सट्टेबाजी बढेको छ । कल निक्षेपमा भएको ठूलो पैसा पनि अहिले मुद्दती निक्षेपमा स्थानान्तरण भएको बैंकर्सको भनाई छ ।

राष्ट्र बैंकको निर्देशन

गत बिहिबारमात्रै नेपाल राष्ट्र बैंकले कल खाताको ब्याजदर साधारण बचत खाताको ब्याजदरभन्दा बढी नहुने व्यवस्था गर्न निर्देशन दिएपछि भने पछिल्लो पटक बढेको सट्टेबाजी रोकिने अपेक्षा गरिएको छ ।

किन यस्तो भयो ?

बैंकर्सकै कमजोरीका कारण निक्षेपकर्ताले निक्षेप सार्न थालेको विश्लेषकहरु बताउँछन् । बचत खाताको ब्याजदर बैंकहरूले नबढाउँदा बैंकहरूको निक्षेप सन्तुलन नै बिग्रिन पुगेका विश्लेषकहरुको दाबी छ । बैंकहरूले बचत खातालाई सन्तुलन मिलाउने खाता (चेकिङ एकाउन्ट)का रूपमा लिन्छन् । सामान्यतया बचत खातामा आउने पैसा एकैपटक ठूलो मात्रामा फिर्ता नहुने भएकाले सुरक्षित मानिन्छ । यस्तो खातामा दिने ब्याजदर पनि निकै सस्तो भएकाले कर्जाको ब्याजलाई तुलनात्मक रूपमा घटाउन पनि बैंकहरूले यही खाताको सहारा लिन्छन् । बैंकमा बढी निक्षेप बचत खातामा नै जम्मा हुने भएकाले यस्तो खातामा कम ब्याज दिएर बैंकहरूले कर्जाको ब्याजदर घटाउन प्रतिस्पर्धा गर्छन् । बैंकहरूले अहिले पनि बचत खातामा औसत १ दशमलव ५ देखि २ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् । मुद्दती खातामा भने १२ प्रतिशत ब्याजदर निर्धारण भएको छ । ब्याजदरमा यस्तो फराकिलो अन्तरका कारण निक्षेपकर्ताले बचत खाताको पैसा निकालेर मुद्दतीमा सार्न थालेको बैंकरहरू नै स्वीकार्छन् ।