
बैंकिङ खबर / विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अध्यक्ष नियुक्त हुनुअघि श्रेष्ठसहित संक्षिप्त सूचीमा परेका ११ जना उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइएको थियो । श्रेष्ठ विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।
शपथपछि मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारलाई प्रभावकारी बनाउन बोर्डले परिणाममुखी ढंगले काम गर्नुपर्ने बताएका छन् । उनले बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको समीक्षा गरी स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न निर्देशन दिएका छन् ।
मन्त्री तिमिल्सिनाले विशेषगरी लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र कानुनसम्मत बनाउन जोड दिएका छन् । सार्वजनिक स्रोतको प्रभावकारी तथा पारदर्शी उपयोग हुने गरी विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर बोर्डको नयाँ कार्ययोजना अघि बढाउने बताएका छन् ।
श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत हुन् । उनी विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो समयदेखि संलग्न रहँदै आएका छन् । उनले मार्स एडभरटाइजिङ एन्ड रिसर्चको प्रबन्ध निर्देशकका रूपमा समेत काम गरिसकेका छन् ।