April 4th, 2016

यी हुन्, अन्तर्राष्ट्रिय अवार्ड लिन नमान्ने सिईओ 

narayan das 1गत साता बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप विजनेश एसेम्बली (इबीए)को उत्कृष्ट म्यानेजर अवार्ड पाएका प्राइम कमर्सियल बैंकका कार्यकारी अधिकृत नारायणदास मानन्धर पुरस्कार लिन नजाने विचारमा थिए । ‘म त्यतिप्रचार–प्रसार हुन चाहान्नँ ।’उनले भने ‘यो पुरस्कार महत्वपूर्ण थियो । तर पनि मैले त्यहाँ जाने मन गरिनँ ।’ सोमबार बैंकिङ खबरसँग कुरा गर्दैै मानन्धरले भने ‘मैले उबेलापनि राजाले दिएको पुरस्कार लिएको थिइनँ ।’ तर सबैको जोडबल र बैँकले पनि उत्कृष्ट बैँक अवार्ड पाएकाले उनले लन्डन पुगेर अवार्ड थापे । यद्यपी उनले कुनै भिन्दै आसयका त्यस्तो विचार नगरेको स्पष्ट पारे । झण्डै एक साताअघि खबर आएको भएपनि उनले अन्तिममा जाने निर्णय गरे । 

बेलायतको अक्फोर्डअन्तर्गत यो वर्षको एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्राइम कमर्सियल बैँकले पायो भने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई उत्कृष्ट बैंक तथा उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरियो । चैत १२ गते कार्यक्रमबीच बैंकलाई बेलायतको इबीएले २०१६ को प्रेस्टिजिएस इन्टरनेशनल अवार्ड प्रदान गरेको हो । 

अक्सफोर्ड अन्तर्गत सन् २००० मा स्थापना भएको यूरोप विजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, बैज्ञानिक, सामाजिक र सास्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई उक्त अवार्ड दिँदै आएको छ । खासगरी इबीएले राजनीतिज्ञ, उद्योगी, व्यवसायी, बैज्ञानिक र कलाकारलाई यस्तो अवार्ड दिने गरेको छ । इबीकाअनुसार प्राइमबैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवा प्रदान गरे वापत उक्त अवार्ड प्रदान गरिएको हो । 

प्राइम कमर्शियल बैंक नेपालको उत्कृष्ट १० बैंकको सूचीभित्र रहेको छ । बैंकले जलविद्युत, सिमेन्ट उद्योग लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । स्थापनाकालदेखि नै लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको बैंक गत आर्थिक वर्षमा न्यून संचालन खर्च गरी अधिकतम नाफा कमाउने बैंकहरुको सूचीको दशौँ नम्बरमा थियो । बैंकले चालू आवको दोस्रो चौमासमा पनि ४६ करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ९२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । बैंकले चालू आवको दोस्रो चौमाससम्ममा कुल ४२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । 

बैंकका कार्यकारी अधिकृत मानन्धरले राम्रो र प्रभावकारी काम गरेबापत अवार्ड पाएको बताए । आगामी दिनमा कर्मचारी, लगानीकर्ता र मुलुकको अर्थतन्त्रलाई राम्रो टेवा पुग्नेगरी काम गर्ने उनले जनाए ।