April 4th, 2016

नेपालमा चिनियाँ बैँक भित्रिँदै

नवराज कुँवर – 

Nepal-and-China-1 - Copyप्रधानमन्त्रीको चिन भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न १० बुँदे सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भयो । तीमध्ये नेपाल राष्ट्र बैंक र चीनको बैंकहरू नियमन गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन (सिआरबी) बीच भएको एउटा सम्झौता हो, (एमओयू)  अर्थात चिनियाँ बैंकहरुले नेपालमा शाखा विस्तार गर्न पाउनबारे समझदारी । चिनियाँ बैँकले नेपालमा शाखा खोल्ने सम्बन्धमा भएको एमओयूमा नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपाल र चीनको केन्द्रीय बैंकका प्रमुखले हस्ताक्षर गरेपछि अब चीनका बैंकहरुले नेपालमा शाखा विस्तार गर्न पाउने भएका हुन् । सम्झौताअनुसार अब नेपालले पनि चिनमा बैंकका शाखा खोल्न पाउने भएको छ । आफ्नो मुलुकमा खुलेका दोस्रो मुलुकका बैंकहरुको अनुगमन गर्न राष्ट्र बैंक र सिआरबीले अधिकार पाउनेछन् । शाखा खोलिएपछि नेपाल र चीनबीचको ब्यापारमा ठूलो सहयोग पुग्ने देखिएको छ । अहिले चिनियाँ बैंकको शाखा नेपालमा नहुँदा चीनका लगानीकर्ताले नेपालमा पैसा बोकेर आउनुपर्ने बाध्यता रहँदै आएको छ । ‘अब नेपालमा चिनियाँ बैंकहरुले शाखा विस्तार गर्न पाउने भएका छन्’, बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले भने, ‘यो सकारात्मक पाटो हो ।’

राष्ट्रबैंकले २०६६ सालमै विदेशी बैंक तथा बित्तीय संस्थाले नेपालमा शाखा खोल्न सक्ने नीतिगत व्यवस्था गरे पनि अहिलेसम्म कुनै पनि विदेशी बैंक तथा वित्तिय संस्थाले नेपालमा शाखा खोलेका छैनन् । चीनमा भएको सम्झौतापछि त्यहाँका बैंकहरुले नेपालमा शाखा विस्तार गर्न चाहेमा विस्तार गर्न सक्नेछन् । विश्वमै बढि संख्यामा पर्यटकीय यात्रामा निस्कने चिनियाँ नागरिकहरु नेपालमा आउँदा झोलामा पैसा बोकेर आउनुपर्ने बाध्यता थियो । जसको कारण चिनियाँ पर्यटकहरु पनि नेपाल आउन उदासीन हुने गरेका छन् । नेपालमा आफ्नै देशको बैंकको शाखा खुलेमा पर्यटकहरुको संख्या पनि बढ्ने पर्यटन व्यवसायिहरुको विश्वास छ । करिब दुई दशकदेखि पर्यटन व्यवसायमा संलग्न नाट्टाका पूर्व प्रथम उपाध्यक्ष शम्भूराज पाठकले भने, ‘विदेशी बैंकको शाखा नेपालमा खुल्नु समृद्धिको संकेत हो, त्यसमाथी चीन एउटा त्यस्तो देश हो जहाँबाट ठूलो संख्यामा नागरिकहरु पर्यटकीय यात्रामा निस्कन्छन् त्यसैले पर्यटकीय यात्रामा निस्कने धेरै पर्यटकको लागि नेपाल एउटा गन्तव्य हुन सक्छ ।’ 

यसअघि नेपाल विश्व व्यापार संगठन (डब्लुटिओ)मा प्रवेश गरेपछि विदेशी बैंकका शाखा खोल्न खुल्ला भएको थियो । तर, दुई देशका केन्द्रीय बैंकबीच सूचना आदानप्रदान गर्ने सम्झौता नभएकाले शाखा खोल्न कठिन थियो । यो सहमतिपछि दुबै मुलुकले एक आपसमा बैकिंङ सूचना आदानप्रदान गर्न एवं आवश्यक परामर्शको लागि सहज वातावरण बनेको बताईएको छ ।