२०७२ चैत्र १८ गते

पुँजीवृद्धिको होडमा वाणिज्य बैँकहरु : मर्जर र बोनसले नपुगेको पुँजी हकप्रद शेयरबाट थप्दै 

economicचुक्ता पुँजी बढाउनुपर्ने दबाबमा रहेका बैंकहरुले चालू आर्थिक वर्षमै ठूलो परिमाणमा हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । यो आर्थिक वर्षमा मात्रै १२ वटा वाणिज्य बैंकहरुले १६ अर्ब रुपैयाँभन्दा बढी हकप्रद सेयर निष्काशन गर्दैछन् । पुँजी बढाउनका लागि बैंकहरुले राष्ट्र बैंकमा पेश गरेको पुँजी वृद्धिको योजनामा २९ वाणिज्य बैंकमध्ये आधा बैंकहरुले मात्रै यसै वर्ष पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने उल्लेख गरेका छन् । बाँकी केही बैंकले आगामी आर्थिक बर्षमा हकप्रद जारी गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

लक्ष्मी बैंकले ३ अर्ब ३ करोड ९२ लाख २९ हजार हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ भने बैंक अफ काठमाण्डूले २ अर्ब ६७ करोड हकप्रद निष्काशन गर्ने भएको छ । त्यस्तै, सानिमा बैंकले    १ अर्ब ५३ करोड, सेन्चुरी बैंकले १ अर्ब ३८ करोड २२ लाख ४० हजार, सिटिजन्स बैंकले १ अर्ब ७० करोड, हिमालयन बैँकले ६४ करोड २७ लाख ३५ हजार, प्राइम कमर्शियल बैंकले १ अर्ब २४ करोड ५५ लाख, मेगा बैंकले ९९ करोड ४० लाख, एनआइसी एशियाले ९२ करोड ४० लाख, प्रभु बैंकले ६४ करोड १७ लाख ७७ हजार, माछापुच्छ्रे बैंकले ३८ करोड र सनराइज बैंकले ३६ करोड ९० लाख ४७ हजार हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेका छन् । 

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ र्पुयाउनुपर्ने घोषणा गरिसकेको छ । जुन पुँजी अहिलेकोभन्दा ४ गुणाले बढी हो । हालसम्म वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । बैंकहरुले मर्जर र बोनस सेयरलाई पुँजी वृद्धिको मुख्य आधार बनाएपनि त्यसबाट अपुग रकम जुटाउन हकप्रद सेयर जारी गर्ने बिकल्प रोजेका हुन् । 

हालसम्म सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगिसकेको छ भने कृषि विकास बैंकले पुँजी बढाउने योजना सार्वजानिक गरेको छैन । 

बैंकहरुले ठूलो परिणममा हकप्रद सेयर निष्कासन गर्ने भएपछि हकप्रदकै आशामा दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्तालाई फाइदा हुने देखिएको छ । बोनस र हकप्रद सेयरको आशामा लगानीकर्ताहरुले महंगोमै भएपनि बजारबाट सेयर खरिद गर्दा अर्थतन्त्रको अवस्था कमजोर भएकै अवस्थामा पनि सेयर बजार ऐतिहासिक उच्च विन्दूमा पुगेको छ ।