साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । बुधबार ६९ करोडको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज विहिबार ६३ करोडको कारोबारमा नै सिमित रह्यो । दिनभरिमा १ सय २७ वटा कम्पनिको १० लाख ७ हजार ५ सय ६६ कित्ता शेयर ३ हजार १ सय १३ पटक खरिदविक्रि हुँदा कुल ६३ करोड ७८ लाख ५७ हजार ३ सय ५६ रुपैँया बराबरको कारोबार भएको हो । परिसूचक ७.५० अंकले घटेर १३५५.४८ अंकमा ओर्लिएको छ ।
सबैभन्दा धेरै कारोबार नेपाल बैँकको ५ करोड ८८ लाख ५५ हजार ३ सय ६७ रुपैँयाको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ५ करोड २७ लाख २६ हजार ४ सय १७ रुपैँयाको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार, डिप्रास्क डेभलपमेन्ट बैँकको ४ करोड ५९ लाख १३ हजार ५ सय ५३ रुपैँयाको शेयर कारोबार भएको छ भने सानिमा बैँकको ३ करोड १९ लाख ३९ हजार २ सय ३० रुपैँयाको शेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैँक, सिटिजन्स बैँक, त्रिवेणी विकास बैँक र लुम्बिनी जेनेरल इन्स्योरेन्सको २ करोडमाथिको शेयर कारोबार भएको छ भने एनएमबी बैँक र एसबीआई बैँकको १ करोडमाथिको कारोबार भएको छ ।
माउण्ट मकालु डेभलपमेन्ट बैँकका लगानीकर्ताले सबैभन्दा धेरै ९.९५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुह्वेश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स, सेती फाइनान्स, लक्ष्मी भ्यालु फण्ड १, नयाँ नेपाल लघुवित्त लगायतले पनि धेरै कमाएका छन् । धेरै गुमाउनेमा कालिञ्चोक डेभलपमेन्ट बैँक, आईसीएफसी फाइनान्स, नागबेली लघुवित्त विकास बैँक, नेपाल लाइफ इन्स्योरेन्स लगायत छन् ।
उत्पादनमूलक र जलविद्युत्बाहेक सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै वीमा समूह ९८.५९ अंकले घटेको छ भने होटल समूह २५.४८ अंकले घटेको छ । विकास बैँक, अन्य, वाणिज्य बैँक र फाइनान्स समूह क्रमशः १२.२, ४.७, ४.५४ र २.५८ अंकले घटेका छन् । उत्पादनमूलक र जलविद्युत् समूह भने क्रमशः २५.६९ र ८.८ अंकले बढेका छन् ।