January 26th, 2017

अन्तर्वार्तामा कुबेर निरौला भन्छन् – ‘फाइनान्स कम्पनीहरुमाथि दबाब छ’

कुबेर निरौला रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक हुन् । रिलायन्स फाइनान्स कम्पनी नेपालमा संचालित राष्ट्रियस्तरका फाइनान्सहरुमा बलियो फाइनान्सको रुपमा गनिन्छ । पछिल्लो समय वाणिज्य बैंकहरुले पनि फाइनान्सको काम गर्न थालेपछि फाइनान्स कम्पनीहरुको भूमिका खुम्चिएको बताइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकको एउटा तप्काले पनि नेपालमा अब ‘क’ वर्गको संस्थामात्रै रहनुपर्ने भनिहेको छ । यसै सन्दर्भमा फाइनान्स कम्पनीहरुको पछिल्लो अवस्था र यस्ता कम्पनीहरुको चुनौतिलगायतका विषयमा बैंकिङ खबरका नवराज कुँवरले रिलायन्स फाइनान्सका सहायक महाप्रबन्धन निरौलासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।
 
नेपालमा फाइनान्स कम्पनीहरुको भूमिका खुम्चिएको भनिन्छ नि ?
सही कुरा गर्नुभयो । कहाँसम्म पुग्ने भन्ने वर्गीकरण छैन । पुँजीको भोल्यूमलाई हेरेर ‘क’ ‘ख’ र ‘ग’ भन्ने हो । क्षेत्रीय स्तरको ख र राष्ट्रिय स्तरको ग मा के फरक छ त ? क्षेत्रीय स्तरको विकास बैंकभन्दा त राष्ट्रिय स्तरको वित्त कम्पनी धेरै ठूला छन् । अब हाम्रो रिलायन्स फाइनान्सको कुरा गर्ने हो भने पनि पुँजी र कभरेज एरियाको हिसाबले हामी नै क्षेत्रीय स्तरको कुनै विकास बैंकभन्दा ठूलो छौँ । तर यति हुँदा हुँदै पनि तपाईले प्रश्न उठाएजस्तै नाम चलेका वाणिज्य बैंकहरु पनि हाम्रो मार्केटमा आइसके । उनीहरुलाई पनि पैसा भएको बेला कसरी लगानी गरौँ र तल तल पुगौँ भन्ने छ । हामीले पनि त्यहि गरिरहेका छौँ । त्यसैले राज्यले व्यवसायिक वर्गीकरण नगरिदिएकाले फाइनान्सको भूमिका अलि खुम्चिएको देखिएको हो ।  राष्ट्र बैंकले त खाली पुँजीको हिसाबमा क, ख, ग र घ भनेर क ले यो गर्ने ख, ग र घ ले यो यो गर्ने भनेर केहि कुरा छुट्याइदिएको छ र पछिल्लो समय बैंकहरुले पनि हामीले गर्ने काम गर्न थालेकाले फाइनान्सहरुमाथी केही दबाब परेको हो ।

फाइनान्स कम्पनीहरुको बजार बैंकहरुले हडपे पनि भनिन्छ नि ?
सही हो । पछिल्लो समय महशुस भएको कुरा के हो भने सुरुमा फाइनान्समा कारोबार गर्ने ग्राहक केही समयपछि बैंकसँग कारोबार गर्न थालेकाले यहाँ सिकेर उता कारोबार गर्न थालेको हो कि । फाइनान्समा राम्रो कारोबार गर्ने ऋणीबारे बैंकहरुले थाहा पाउनेवित्तिकै उनीहरुले त्यस्तो ग्राहक आफुतिर तानिहाल्छन् । र अर्को कुरा क वर्गको बैंकहरुको व्याजदर अलि सस्तो हुन्छ । हायर पर्चेजमा हामी पनि कर्जा दिन्छाँै, वाणिज्य बैंकहरुले पनि दिन्छन् । त्यसैले बजारबाट ग्राहक तान्ने काम चाहिँ भएको हो । तर फेरी ग्राहकलाई फाइदा दिन्छन् भने हामीले यसप्रति आपत्ति जनाउनु पनि हुँदैन । तर हामीले जुन ‘कोल्याटेरल’ लिएर जति ‘एक्स्पोजर’ दिएका छौँ, त्यही कोल्याटेरलमा त्योभन्दा धेरै बढी एक्स्पोजरमा ब्याजदर कम दिएर लैजानु चाहिँ ठूलो समस्या हो ।

वास्तवमा नेपालमा फाइनान्सहरु अहिले कुन अवस्थामा छन् ?
केही चुनौति भएपनि हाल नेपालमा फाइनान्स कम्पनीहरुको अवस्था राम्रो छ । एउटै ऐनले स्थापना भएको भए पनि बैंकिङ विजनेसमा फाइनान्स कम्पनी र अन्य बैंक वित्तीय संस्थाहरु वर्गीकृत छन् । फाइनान्स कम्पनीहरुसँग आफ्नो किसिमको बजार छ । समग्रमा फाइनान्स कम्पनीहरुको अवस्था राम्रो छ । पुँजी बढिरहेको छ । पछिल्लो समय संख्यात्मक रुपमा फाइनान्स कम्पनीहरु घट्दो क्रममा छन् । तर उनीहरुको वित्तीय अवस्था भने गुणात्मक देखिन्छ ।

फाइनान्स कम्पनीहरुको भविष्य चाहिँ कस्तो छ त ?
मलाई लाग्छ अहिले नै फाइनान्स कम्पनीहरुको भविष्यलाई लिएर चिन्ता गर्नुपर्ने अवस्था सृजना भईसकेको छैन । किनभने कठिन परिस्थितिलाई चिर्दै फाइनान्स कम्पनीहरुले आफ्नो स्तरवृद्धि गरेका छन् । आफुलाई एउटा स्ट्याण्डर्ड पोजिसनमा उभ्याएका छन् । त्यसैले यी संस्थाहरुको भविष्य पनि राम्रो नै छ ।

तर फाइनान्सले गर्ने काम ठूला बैंकहरुले नै गर्न थालिसके, अझ सहकारीले पनि गरिदिन्छन् । यस्तो अवस्थामा आफ्नो बजार खोसिदै गएका फाइनान्सको भविष्य कसरी सुनिश्चित भन्न सकिन्छ ?
ग्राहकलाई सन्तुष्ट बनाएपछि मात्रै व्यवसाय विस्तार सम्भव हुन्छ भन्ने कुरा खुला बजार नीतिले बताउँछ । यसर्थ कम्पनीले ग्राहकलाई दिने सेवा, सुविधा वा सन्तुष्टिले नै सो कम्पनीको भविष्य निर्धारण गर्ने हो । त्यसैले क, ख र ग वर्गका कम्पनीले एउटै काम गरिरहेका छन् भनेर कसैले हच्किनुपर्ने अवस्था छैन । राष्ट्र बैंकले स्पष्ट रुपमा भनिदिएको छ, वाणिज्य बैंकहरुले विकास बैंकभन्दा अलि बढी काम गर्छन, विकास बैंकले फाइनान्सभन्दा अलि बढी काम गर्छन् । त्यसैले पनि क र ख लाई ग भन्दा प्रतिष्पर्धात्मक फाइदा आफ्नो ठाउँमा छ ।

ठूला बैंकहरुसँग त फाइनान्स कम्पनीहरुले लामो समय प्रतिष्पर्धा गर्न नसक्लान् नि ?
निश्चित रुपमा ठूला बैंकहरुले पनि फाइनान्सले गर्ने काममा सक्रियता बढाएकाले चुनौति केही देखिएका छन् । तर क र ख बैंकले फाइनान्सको व्यवसाय नै धरापमा पार्छन् र त्यसैका कारण फाइनान्सको भविष्य राम्रो छैन भन्न चाहिँँ सकिदैन । फाइनानसलाई त असर त्यतिबेलामात्रै पुग्ने जतिबेला उनीहरुका ग्राहकहरुले उनीहलाई विश्वास गर्न छाड्छन् । फाइनान्स कम्पनीहरु त्यति सजिलै अहिलेको अवस्थामा आइपुगेका हैनन् । बजारमा फाइनान्सको विश्वसनीयता कायम गर्न ठूलै संघर्ष भएको थियो । त्यति दुखका साथ फाइनान्स कम्पनीहरुले बजारमा आफुलाई विश्वसनीय संस्थाका रुपमा स्थापित गराएका छन् । जसका कारण यी संस्थाहरुको आफ्नै बजार र आफ्नै ग्राहकहरु छन् ।

अब 'क' वर्गका संस्थाहरु मात्रै राख्ने गरी राष्ट्र बैकले तयारी गरिरहेको छ भन्ने आएको छ त ?
त्यस्तो हुन सक्दैन । यदी त्यसो भएको अवस्थामा जनताले ठूलो सास्ती झेल्नुपर्ने अवस्था आउन सक्छ । अहिले अन्य संस्थाहरुले बैंकिङ पहुँच नभएको वर्गलाई जसरी समेटेका छन् भोलि क वर्गका संस्थाले मात्रै उनीहरुलाई समेट्न सक्दैनन् । हाम्रो बजार, कार्यक्षेत्रलगायतका कुराहरु हेर्दा पनि त्यो सम्भव छैन ।

तपाईहरुको रिलायन्स फाइनान्स त नेपालको बलियो वित्तीय अवस्था भएको फाइनान्समा पर्छ, यसको पछिल्लो अवस्थाका बारेमा पनि जानकारी दिनुहुन्छ ?
रिलायन्स फाइनान्स राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो । यस फाइनान्सको अवस्था राम्रो छ । हामी अहिलेसम्म शाखा विस्तारकै क्रममा छौँ । अहिलेसम्म चार वटा शाखा विस्तार गरिसकेका छौँ भने अब अलि ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर अर्थात गाविस केन्द्रित थप चार शाखा विस्तार गर्ने तयारीमा छाँै । यसर्थ चाँडै हाम्रा थप चार शाखा खुल्दैछन् । केही दिनअघि १५ प्रतिशत बोनश सेयर जारी गरेपछि अहिले हाम्रो चुक्ता पुँजी ५१ करोड रुपैयाँ पुगिसकेको छ । केही दिनमै हामी थोरै हकप्रद सेयर जारी गर्छौँ । त्यसपछि असार मसान्तसम्ममा पुनः थोरै बोनश सेयर जारी गरेपछि हामी नेपाल राष्ट्र बैंकद्धारा न्यूनतम चुक्ता पुँजी पुर्याउन सफल हुनेछौँ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]