नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका एक दर्जन बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति करिब एक अर्ब देखिएको छ । केन्द्रीय बैंकको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार १२ बैंक तथा वित्तीय संस्थाको कुल ९५ करोड ३६ लाख ९४ हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको देखिएको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ती संस्थाको ८६ करोड ९२ लाख ६१ हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।
समस्याग्रस्त संस्थाहरूमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति गोर्खा विकास बैंकको छ । पुस मसान्तसम्ममा बैंकको ३० करोड ५८ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । सो अवधिसम्ममा बैंकको दायित्व ६७ करोड ५ लाख ४१ हजार रुपैयाँ छ । तर, समस्याग्रस्त संस्थाहरूमध्ये क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति शून्य छ । समस्याग्रस्त संस्थाहरूको पुससम्मको प्रतिवेदनअनुसार दायित्वको पक्षलाई हेर्दा १२ संस्थाको कुल दायित्व ४ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ छ । ती संस्थाको कर्जा अर्थात् सम्पत्ति ७ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ छ । समस्याग्रस्त संस्था सम्पत्ति बिक्री गरी दायित्व पूरा गर्ने क्रममा छन् ।
कसरी गैरबैँकिङ हुन्छ सम्पत्ति ?
ती वित्तीय संस्थाले प्रवाह गरेको धितोको अधिक मूल्यांकन गरिएकाले गैरबैंकिङ सम्पत्ति बढेको जानकारहरू बताउँछन् । वित्तीय क्षेत्रमा संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति बढ्नुले कर्जा प्रवाहको पारदर्शिता नरहेको बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले धितोको अधिक मूल्यांकन गरी कर्जा प्रवाह गर्दा ‘डिफल्ट’ भए पनि कर्जा असुलीका लागि लिलाम बिक्री नभए संस्था आफैंले सकार्नुपर्छ । यसरी सकारिएको सम्पत्ति नै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति हो । वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा संस्थामा समस्या आउने देखिन्छ । घर तथा जग्गाको धितो मूल्यांकन धेरै गरी कर्जा प्रवाह भए पनि त्यो कर्जा असुली गर्न बैंकले धितो बिक्री गर्दासमेत धेरै मूल्य तोक्छ । “अधिक मूल्यांकन गरिएको धितो बैंकले नै सकारेपछि गैरबैंकिङ सम्पत्ति हुन्छ,” केन्द्रीय बैंकका प्रवक्ता त्रिलोचन पंगेनी भन्छन्, “यस्तो सम्पत्ति घर वा जग्गा हुने भएकाले हाल घरजग्गाको मूल्यमा कमी आएको छ ।” बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि गरेको मूल्यांकनभन्दा बजार मूल्य तल भए बिक्री हुँदैन । बिक्री नभएपछि कर्जा असुली हुनेगरी बिक्री गर्नको लागि उपयुक्त समय पर्खिंदा गैरबैंकिङ सम्पत्ति हुने उनले बताए । उपयुक्त मूल्यको खोजी गर्दा बिक्री गर्न समय लागेपछि त्यस्तो धितो बिक्री हुन नसकेको पंगेनीको भनाइ छ ।