March 29th, 2016

सरकारी उदासिनताले गर्दा हुण्डी कारोबार बढ्यो

economicपछिल्लो समय हुन्डी कारोबारले तीब्रता पाएको छ । यद्यपि, नेपालमा कति रकमको हुन्डी कारोबार हुन्छ भन्ने तथ्यांक अर्थमन्त्रालयसँग छैन । यसलाई रोक्नको लागि अर्थमन्त्रालयले हालसम्म उचित नीति तर्जुमा गर्न सकेको छैन । भारत, हङकङ, दुबई, मलेसिया, चीन, जापान मात्र होइन, युरोप र अमेरिकामा समेत हुन्डीमार्फत नेपालीले कारोबार गर्ने गरेका छन् । यसमा केही मारवाडी व्यवसायी संलग्न रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार मनी ट्रान्सफरको कारोबार गर्नेहरू पनि हुन्डीको धन्दामा सक्रिय छन् । पहिले विद्युतीय सामग्रीको कारोबार गर्ने व्यक्तिहरूले अहिले हुन्डीको धन्दा चलाउने गरेका छन् । बैंकिङ च्यानलबाट कारोबार गर्दा स्रोत खुलाउनुपर्ने भएकाले अवैध किसिमको पैसा लेनदेन हुन्डीमार्फत हुने गरेको हो ।

उदासिन सरकार
नेपालमा हुन्डी भित्रिनुको पहिलो कारण बंंैकिङ क्षेत्र प्रतिको अविश्वास हो भन्छन् अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार गाविन्द नेपाल । उनले भने, “बित्त कम्पनीलाई अविश्वास गर्नुले पनि  नेपालमा हुन्डी बढी भित्रिने गरेको छ, यसलाई रोक्नको लागि अर्थमन्त्रालयले नीतिगत तहदेखि नै निर्णय गर्न लागेको छ ।” नेपालमा विदेशबाट आउने रकम शुद्ध हुनुपर्ने र नेपालमा हुन्डीबाट पैसा पठाउन नमिल्ने बनाउन नेपाल सरकारले दुई बर्ष अघिदेखि गृहकार्य थालेको थियो । तरपनि खुलेयाम हुन्डीको अवैध कारोबार गर्नेको संख्यामा कमी आउन सकेको छैन । नेपालमा हुन्डी नियन्त्रण गर्न रेमिट्यान्स विभागले समेत चासो दिएको छैन । हुन्डीमार्फत घुस खान पल्केका व्यवसायीहरु स्वदेशदेखि विदेशसम्म हुन्डीको अबैध धन्दामा सल्वलाइरहेका छन् । 

अनुसन्धान शून्य

हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । तर, स्थापनाको तीन वर्षमा विभागले एउटा पनि हुन्डी कारोबारको अनुसन्धान गर्न सकेको छैन । हुन्डीमार्फत हुने कारोबार संगठित अपराध भएकाले अनुसन्धान अलि जटिल भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । हुन्डी कारोबारीमाथि निगरानी भइरहेको बताउँदै उनले भने,‘संगठित अपराध भएकाले अनुसन्धान अलि जटिल छ, हामीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौँ ।’ स्रोतका अनुसार उपत्यकाका न्युरोड र ठमेल क्षेत्रमा हुन्डीमार्फत धेरै कारोबार हुने गरेको छ । पसलको आवरणमा धेरै व्यक्तिले हुन्डीको काम गर्दै आएका छन् । तर, प्रहरीले समेत हालसम्म एकजनालाई पनि पक्राउ गर्न सकेको छैन । हुन्डी कारोबारीलाई केही प्रहरी अधिकारीबाट पनि संरक्षण हुने गरेको स्रोतको दाबी छ । 


हुण्डीसँगै सुन तस्करी र आतंकवाद
हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरी अधिकारी बताउँछन् । नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ । यसरी बिक्री हुने लागुऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ । हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ । हुन्डीको अवैध कारोबारसँगैे सुन तस्करी पनि मौलाएको छ । लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरूका अनुसार नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको छ भने त्यसको लेनदेन हुन्डीमार्फत नै हुने गरेको छ । त्यस्तै, आतंकवादी क्रियाकलापको पैसा पनि हुन्डीमार्फत नै एक देशबाट अर्काे देशमा पुग्ने गरेको छ ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अख्तियारलाई हुन्डिको विषयमा अनुसन्धान गर्न स्वीकृति नभएको बताए । गैरकानुनी ढंगबाट भित्रिने हुन्डी रोक्न व्यवसायी, राज्य, जनता सबै मिलेर यस्तो कारोबार गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिन्छन् बैंदेशिक रोजगार विभागका अध्यक्ष विमल ढकाल । उनले नेपाल सरकारको फितलो कामले हुन्डी बढ्दै गएको बताउँदै यसलाई गम्भीर विषयको रुपमा लिनुपर्ने औंल्याए ।