काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा जिल्ला अदालत पर्सामा हाजिर भएका छन् । सनराइज बैंकका तत्कालीन सीईओसमेत रहेका शर्माविरुद्ध कर्जा अपचलन तथा विश्वासघातसम्बन्धी मुद्दा दायर भएपछि उनी आज जिल्ला अदालत पर्सामा उपस्थित भएका हुन् । स्रोतका अनुसार शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी केही समयदेखि फरार रहेका थिए । प्रहरीले उनीविरुद्ध कर्जा अपचलन तथा विश्वासघात गरेको आरोपमा जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको थियो ।
शर्मा सनराइज बैंकको सीईओ रहेका बेला अन्जली इन्टरनेशनललाई कर्जा दिने क्रममा अनियमितता भएको आरोप लागेको छ । बैंकबाट कर्जा प्रवाह गर्ने प्रयोजनका लागि धितो राखिए पनि सोअनुसार कर्जा उपलब्ध नगराएको आरोप उनीमाथि छ । उक्त प्रक्रियामा धितो स्वीकार गरिए पनि त्यसअनुसार कर्जा भुक्तानी नगरेको पाइएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही प्रकरणमा शर्मासहित सम्बन्धित व्यक्तिहरूमाथि कर्जा अपचलन तथा विश्वासघातसम्बन्धी मुद्दा दायर गरिएको हो ।