काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको एनएमबि सरल बचत फण्ड ई (NMB Saral Bachat Fund-E) ले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीलाई ५.२५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने भएको छ।
फण्डले २०८३ असार मसान्तसम्म कायम रहेको ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसाको इकाई पुँजीका आधारमा कुल २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्ता मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्। प्रतिफल वितरण प्रक्रिया नियामकीय व्यवस्था अनुरूप पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गरिने जनाइएको छ।
लाभांश पुनर्लगानी योजना (Dividend Reinvestment Plan–DRIP) रोजेका इकाईधनीले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी बढाउन सक्नेछन्। पुनर्लगानीमा सहभागी नभएका इकाईधनीको हकमा भने कर कट्टीपछि प्रतिफल सम्बन्धित बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।
एनएमबि क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण र स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास थप मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ। कम्पनीले बजारको अवस्था, लगानीका अवसर र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।
साथै, प्रतिफल वितरणमा कुनै समस्या नआओस् भनेर लगानीकर्तालाई आफ्नो बैंक खाता तथा व्यक्तिगत विवरण अद्यावधिक राख्न कम्पनीले आग्रह गरेको छ। प्रतिफलसम्बन्धी थप जानकारीका लागि कम्पनीको आधिकारिक माध्यम वा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।


