साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २९ वटा कम्पनिको १४ लाख ८६ हजार ८ सय ४७ कित्ता शेयर ४ हजार ५ सय २९ पटक किनबेच हुँदा १ अर्ब १४ करोड २६ लाख २९ हजार ५ सय २ रुपैँया बराबरको कारोबार भएको हो । आइतबार नेप्से परिसूचक २०.१९ अंकले बढेर १३७७.३३ अंकमा पुगेको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको मात्रै ११ करोड ४३ लाख ९ हजार २ सय ५२ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने नविल बैँकको संस्थापक र साधारण शेयर गरेर १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । सिटिजन बैँकको ७ करोड १८ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । नेपाल बैँक र एभरेष्ट र्बैँकको ६ करोडमाथिको कारोबार भएको छ भने सानिमा बैँक, एसबीआई बैँक र स्टान्डर्ड चार्टर्ड बैँकको ४ करोड माथिको शेयर कारोबार भएको छ । एनएमबी बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
इनोभेटिभ डेभलपमेन्ट बैँक र मिसन डेभलपमेन्ट बैँकका लगानीकर्तालेसबैभन्दा धेरै १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । माउण्ट मकालु डेभलपमेन्ट बैँक, सेन्ट्रल फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, विराट लक्ष्मी विकास बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा कालिञ्चोक डेभलपमेन्ट बैँक, प्रुडेन्सियल इन्स्योरेन्स, अल्पाइन डेभलपमेन्ट बैँक, अपि पावर कम्पनि, रिलायन्स लाटस फाइनान्स, मन्जुश्री फाइनान्स लगायत छन् । सबैभन्दा धेरै कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य २.४८ प्रतिशत अर्थात् ९५ रुपैँयाले बढेको छ ।
विकास बैँक र अन्य समूहबाहेक सबै समूह बढेका छन् । विकास बैँक र अन्य समूह क्रमशः ५.२५ र ५.८७ अंकले घटेका छन् । सबैभन्दा धेरै वाणिज्य बैँक समूह ३६.५४ अंकले बढेको छ । होटल, जलविद्युत्, फाइनान्स र वीमा समूह क्रमशः ८.९६, ६.०३, १.६६ र ०.७८ अंकले बढेका छन् ।