
बैंकिङ खबर / नयाँ सरकार गठन भएसँगै सेयर बजार लगातार घटिरहेको अवस्थामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजी बजारका सरोकारवालासँग छलफललाई तीव्र बनाएका छन्। बिहीबार बिहान अर्थ मन्त्रालयमा आयोजित बैठकमा उनले बजार सुधार र विकासका लागि सरकार सकारात्मक रहेको स्पष्ट पारे।
उक्त बैठकमा नेपाल स्टक एक्सचेन्ज (NEPSE) र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलमा राजस्व सचिव भूपाल बराल, धितोपत्र बोर्ड अध्यक्ष सन्तोनारायण श्रेष्ठ तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँ लगायत सहभागी थिए।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएका समस्याहरूको पहिचान गर्दै सुधारका लागि आवश्यक कदमहरूको अध्ययन गर्न र छिटो कार्यान्वयनमा जान निर्देशन दिएका छन्। उनले सरकार बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको पनि बताएका छन्।
यसअघि सेयर बजारमा देखिएको निरन्तर गिरावटप्रति चासो व्यक्त गर्दै हरि ढकाल लगायत सांसद तथा लगानीकर्ताहरूले अर्थमन्त्रीसँग भेट गरेका थिए। त्यसलगत्तै सरकारले सरोकारवालासँग औपचारिक छलफल अघि बढाएको हो। हालको परिस्थितिमा लगानीकर्ताहरूको मनोबल घट्दै गएको बेला सरकारको यस्तो सक्रियता बजार सुधारको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



