
बैंकिङ खबर / सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणलाई लक्षित गर्दै आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि आईपीओ खुला गर्ने जनाएको छ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४२ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले फागुन १७ गते अनुमति दिएको हो। यसमध्ये पहिलो चरणमा ४ लाख २९ हजार कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ।
कम्पनीले २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित राखेको छ। बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गरिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि चैत ९ गतेदेखि चैत १२ गतेसम्म तोकिएको छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हाल्नेछ।



