नेपालमा बैँकहरुको शाखा विस्तारको क्रमले तीव्रता लिएसँगै बैँकिङ कारोबार बढेको छ । बैंकहरुका शाखा विस्तारसंगै बैंकमा खाता खोल्ने र ऋण लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैँकका अनुसार, एक बर्षमा बैंकहरुको निक्षेप ८ लाख ६३ हजार र ऋण खाता ७७ हजार थपिएका छन् । ०७२ माघसम्ममा निक्षेप खाता १ करोड ५७ लाख र ऋण खाता १० लाख ५८ हजार पुगेको छ ।
एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाका ३ सयवटा शाखाहरु थपिएका छन् । नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको माघसम्ममा देशभर स्थापना भएका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ४ हजार ६१ पुगेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार ७ सय ७ शाखा रहेकोमा १ बर्षको अवधिमा ३ सय ९ वटा शाखा थपिएका हुन् ।
राष्ट्र बैंकले केही समययता निजी बैंकलाई गाउँगाउँमा शाखा विस्तार गर्नको लागि कडाई गर्दै आइरहेको छ । बैंकहरु बढी शहर केन्द्रित देखिएपछि राष्ट्र बैंकले निजी बैंकहरुलाई कडाई गरेको हो । राष्ट्र बैंकको नीति अनुसार कुनै बैंकले काठमाडौंमा शाखा विस्तार गरेपछि राष्ट्र बैंकले तोकेको दुर्गम क्षेत्रमा पनि शाखा विस्तार गर्नैपर्ने हुन्छ ।
पछिल्लो समयमा भने बैंकहरुले गाउँगाउँमा पनि शाखाहरु विस्तार गर्न थालेका छन् । यद्यपि, अति दुर्गम क्षेत्रमा भने अझैपनि बैंकहरुको उपस्थिति न्यून छ । हाल राष्ट्र बैंकको स्वीकृति लिएर २९ वाणिज्य बैंक, ७३ विकास बैंक र ४७ फाइनान्सले सेवा दिइरहेका छन् । यी संस्थाहरुले २८ खर्ब ७३ अर्ब ऋण लगानी गरेका छन् । यसवाहेक लघुवित्त संस्था र सिमित बैंकको कारोबारको इजाजत पाएका सहकारीको संख्या गरी ५ दर्जन पुगिसकेका छ ।
एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको संख्या भने घटेको छ । बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने सम्बन्धि नियमावली ०६८ कार्यान्वयनमा आएपछि ०७२ माघ मसान्तसम्ममा ८४ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज भई ३१ वटा संस्था बनेका छन् ।