२०८२ फाल्गुन १० गते

आईएमएफबाट नेपाल सरकारले आर्थिक सहायता लिने सहमति

बैंकिङ खबर / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालले आर्थिक सहायता लिने भएको छ । आईएमएफ र नेपाल सरकारका अधिकारीहरूबीच सम्पन्न विस्तारित कर्जा सुविधाको सातौँ समीक्षामा यस्तो सहमति भएको हो । नेपाल मिसन प्रमुख सरवत जहाँको नेतृत्वमा फेब्रुअरी ६ देखि २० सम्म गरेको काठमाडौं भ्रमणका क्रममा यस्तो समझदारी भएको आईएमएफले जनाएको छ । करिब चार वर्षअघि शुरु भएको विस्तारित कर्जा सुविधाअन्तर्गत नेपालले विभिन्न आर्थिक सुधारका काम गरिरहेको छ भने कुल ३९ करोड ५९ लाख अमेरिकी डलर हालको विनिमयदर अनुसार करिब ५७ अर्ब रुपैयाँको वित्तीय सहयोग नेपालले पाउनेछ । आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले करिब ४ करोड ३२ लाख अमेरिकी डलर अर्थात करिब ६ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण पनि पाउने छ । नेपाल मिसन प्रमुख जहाँ नेतृत्वको टोलीले ईसीएफको समीक्षाका अतिरिक्त सन् २०२६ को आर्टिकल फोर कन्सल्टेसनका लागि छलफलसमेत गरेको छ । भ्रमणमा टोलीले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल लगायतसँग भेटवार्ता गरेको थियो । सन् २०२१ को आईएमएफको सेफगार्ड मूल्यांकन तथा सन् २०२३ को वित्तीय क्षेत्र स्थायित्व प्रतिवेदनका प्रमुख सिफारिसहरू नेपाल राष्ट्र बैंक ऐन संशोधनको मस्यौदामा समावेश गर्ने सहमति भएको पनि वक्तव्यमा उल्लेख छ । राष्ट्र बैंक ऐन संशोधन विधेयक संसदमा पेस गर्नु कार्यक्रम अन्तर्गतका सुधारहरूको एउटा अत्यावश्यक चरण भएको आईएमएफले जनाएको छ ।