
बैंकिङ खबर / राजनीति गर्ने मान्छेमा राजनेता हुने गुण चाहिन्छ । यही भनाईलाई सार्थकता दिँदै आएकी भगवती चौधरीलाई सुनसरी ३ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले अघि सारेको छ । उनी महिला शशक्तिकरणका लागि निकै सक्रिय मानिन्छिन् । जसका कारण एमाले समर्थकले मात्रै होइन हरेक तह तप्का र हरेक पार्टीमा आश्था राख्नेहरुले उनलाई मन पराउँछन् । त्यसमाथि कैयौं युवाहरु त उनको पथ पच्छाएर उद्यमशीलताको बाटोमा अग्रसर छन् ।
गरिव नागरिकको पक्षमा काम गर्दा अन्तर्राष्ट्रिय पुरस्कार
यस अघि सांसद हुँदा भगवती चौधरी बेलायतमा सम्मानीत भएकी थिइन् । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानीत गरिएको बताइएको छ । सम्मानीत भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफूले समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताइन् । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सांसद चौधरीले सम्मानीत हुन पाउँदा गौरवान्तिक भएको बताइन् । महिला आर्थिक सशक्तिकरणकी अभियान्ता समेत रहेकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्याएकी थिइन् । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहेकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन्। उनले ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड नेपाल, मार्फत गाउँगाउँमा रहेका महिलाहरुलाई सामाजिक, सांस्कृतिक विभेदहरु विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तिकरणमा जोडेकी छन् । उनले गरिब, विपन्न र पछाडी परेका महिलाहरुको आर्थिक उन्नतीका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमुलक तालिम लगायतमा कााम गर्दै आइरहेकी छन्।

सर्वाधिक मन पराईएकी पात्र
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति भएको मतदानमा केन्द्रीय सदस्य खुला महिलातर्फ भगवती चौधरीले सर्वाधिक मत प्राप्त गरेकी हुन् । उनी अध्यक्षमा तेस्रोपल्ट निर्वाचित केपी शर्मा ओली प्यानलबाट उमेदवार बनेकी थिइन् । ५२ केन्द्रीय सदस्य खुला महिलातर्फ चौधरी सबैभन्दा बढी मत पाएर विजयी भएकी हुन् । उनले कुल मतदानको झन्डै ९२ प्रतिशत मत प्राप्त गरिन् । ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उमेदवार विजयकुमार गच्छदारलाई हराएपछि उनको चर्चा चुलिएको हो । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पनि बनेकी थिइन् । जतिवेला उनले महिला, वालवालीका र जेष्ठ नागरिकका पक्षमा विभिन्न योजना अघि सारेकी थिइन् ।
समाज सेवामा सधैं गरिवसँग
भगवति चौधरीले सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामिण भेगका तीन लाख बढी महिलाको अनुहारमा उज्यालो ल्याएकी छन् । सुनसरीको दुहवीमा रहेको फरवार्ड लघुवित्त वित्तीय संस्था मुलतः गरिबीको रेखामुनि रहेका तथा न्यून आय भएका ग्रामिण भेगका महिलाको जीवन स्तर उकास्न तल्लिन छ । आर्थिक अधिकारबाट वञ्चितिकरणमा परेका विपन्न सुमदायका महिलाको अनुहारमा खुसी ल्याउन आर्थिक सशक्तिकरणकी अभियन्ता चौधरी हर बखत कोसिस गरिरहेकी छन् । उनले धेरै युवा, महिलाहरुलाई रोजगारका साथै स्वरोजगार बनाइसक्नु भएको छ । पछिल्लो समय युवाहरुले उठाएका सुशासन, आर्थिक उन्नती, स्वरोजगार, आत्मनिर्भरताका कुरा आफुले १० वर्ष अगाडी देखि उठाउँदै आएको चौधरी बताउँछिन् ।
चौधरी सामाजिक क्षेत्रमा उदाएकी महिला हुन् । वर्गीय, क्षेत्रीय र लैंगिक आन्दोलनमा अग्रमोर्चामा उनी छन् । यस क्षेत्रका नागरिकले उनलाई महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने नेताको रुपमा चिन्ने गर्दछन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रशिक्षण दिएर त्यसका आधारमा बिउपुँजी उपलब्ध गराउने गरिएको चौधरी बताउँछिन् ।
कुनै बेला एक सय नहुनेहरु अहिले फरवार्डसँग जोडिएर करोडपति भएका छन् । उद्यमी मात्र बनेका छैनन् समूदायलाई सचेत बनाउने अभियानमा समेत लागेका छन् । स्थानीय चन्द्र प्रकाश भन्छन्, ‘सामाजिक योगदान गर्नुभएकी चौधरी दिर्घकालिन योजना दिनसक्ने भिजन भएको नेता हो । जनप्रतिनिध नहुँदै चौधरीको योगदान देखिन्छ भने भोली निर्वाचित भएर गएपछि उहाँले समाज र राज्यको लागि धेरै काम गर्न सक्नुहुनेछ ।’
आर्थिक समृद्धि, युवा स्वरोजगार र व्यवसायिक कृषि योजना र स्थानीय विकासका आधारलाई आफ्नो चुनाबी नारा लिएर चौधरी चुनावी मैदानमा छन् । सुनसरी क्षेत्र नं ३ विकास र आर्थिक दृष्टिकोणले सबैभन्दा पछाडी परेको क्षेत्रका रुपमा लिने गरिन्छ । उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर उकास्नकै लागि आफु राजनीतिमा होमिएको चौधरी बताउँछिन् । उनी भन्छिन्, ‘राजनीतिमा लागेर मैले कुनै व्यक्तिगत लाभ लिनु छैन, मेरो एकमात्र उद्देश्य भनेको त्यहाँका जनताको जीवनस्तर उकास्नु हो ।’ आधुनिक कृषि प्रणाली अवलम्बन गर्दै चक्लावन्दी गरी नगदेबाली लगाए उक्त क्षेत्रका जनताको जीवनस्तर सुधार गर्न सकिन्छ । सुनसरी क्षेत्र नं ३ सँग जोडिएका क्षेत्र र जिल्लाका जनताको जीवनस्तर सुदृढ हुँदै जाँदा आफ्नो क्षेत्रका जनताहरु अझै ऋणमा पिल्सिइरहेको उनको भनाइ छ । सुनसरी ३ मा विकासको मुल फुटाउन र त्यहाँका जनताको जीवनस्तर उकास्नकै लागि आफूले राजनीति गरेको चौधरी बताउँछिन् ।
