बैंकिङ खबर / नेपाली अर्थतन्त्र सुधार्न वित्त नीतिमा परिवर्तन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विज्ञहरूले मौद्रिक नीति भन्दा सरकारी कार्यशैली, संरचनागत सुधार र वित्त नीतिमा परिवर्तन गर्नु अपरिहार्य भएको बताए । मुलुकमा आर्थिक सुस्तता बढेको, बढ्दो व्यापार घाटा र कमजोर पुँजीगत खर्चका कारण वित्त नीति दवावमा परेको उनीहरुको भनाई छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालको विकास यात्रा संरचनागत रूपमै कमजोर भएको बताउँछन् । कृषिबाट सिधै सेवा क्षेत्रमा उफ्रिँदा औद्योगिक आधार तयार हुन नसकेको उनको बुझाई छ । पूर्वाधार निर्माणका लागि आवश्यक संस्थागत क्षमता कमजोर भएकोले विनियोजित बजेट खर्च हुन नसकेको पनि उनको विश्लेषण छ। विकास आयोजनामा खर्च भएको रकमले नतिजा दिन नसक्नु, अर्कातिर पैसा थुप्रिएर बस्नु विडम्बनापूर्ण भएको गभर्नर पौडेलको भनाई छ ।
अर्थविद् डा.गोविन्द नेपालका अनुसार मौद्रिक नीति भन्दा वित्त नीति नै परिवर्तन गर्नुपर्ने अबस्था मुख्य चुनौती हो । हालको वित्त नीति सुस्त भएका कारण अर्थतन्त्रमा समस्या रहेको उनको बुझाई छ । उता त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रमेशचन्द्र पौडेल नेपालमा राजनीतिक परिवर्तन भए पनि आर्थिक एजेन्डा सधैँ ओझेलमा पर्दा यस्ता समस्याहरु उत्पन्न भएको बताउँछन् । मौद्रिक पाटोमा केही सुधार देखिए पनि वित्त नीति असफल भएको उनको बुझाई छ । जस कारण पुँजी पलायन अझ बढ्ने खतरा रहेको उनी बताउँछन् । पछिल्लो समय वैदेशिक लगानी भित्रिन नसक्नुका कारण पनि यही भएको उनको ठम्याई छ । आर्थिक सुधारका लागि संस्थागत क्षमता विकास र भ्याटमा बहुदर प्रणाली लागू गर्नुपर्ने उनको भनाई छ ।